सप्तकोशीमा पानीको बहाव बढ्यो, ३५ वटा ढोका खोलिए



सप्तरी,असोज ९ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएको छ।

आज साँझ ५ः१५ बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख ६५ हजार ७९५ क्युसेक पानीको बहाव पुगेपछि ३५ वटा ढोका खोलिएको हो।

यसअघि आज मध्यान्ह १२ः१५ बजे प्रतिसेकेन्ड २ लाख १७ हजार ४१५ क्युसेक पानीको बहाव हुँदा २८ वटा ढोका खोलिएका थिए। दिउँसो १ः१५ बजे बहाव बढेर २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो।

त्यसैगरी, दिउँसो २ः१५ बजे पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो।दिउँसो ४ः१४ बजे बहाव बढेर प्रतिसेकेन्ड २ लाख ६२ हजार २३० क्युसेक पुगेपछि ३४ वटा ढोका खोलिएको थियो।

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यान दिँदै जोखिमपूर्ण क्षेत्रमा नजानसमेत अनुरोध गरिएको छ।कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चार वटा नहरका ढोकासहित जम्मा ५६ वटा ढोका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्