पश्चिमी नेपालमा वर्षाको गतिविधि अझै बढ्ने, बाढी–पहिरोको जोखिम उच्च
काठमाडौं,असोज ९ । मौसम विज्ञान विभागले पछिल्ला दुई दिनदेखि भइरहेको वर्षाको गतिविधि अझै बढ्ने जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिन विशेषगरी पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भूभागमा वर्षा भइरहेको हो। मौसमविद् राजन लामिछानेका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ।
पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेकाले बाढी तथा पहिरोको जोखिमसमेत बढेको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षासँगै बाढी र पहिरोको जोखिमका आधारमा ७७ जिल्लालाई रातो, सुन्तला र पहेँलो गरी तीन तहमा वर्गीकरण गरेको छ। तीमध्ये २५ जिल्ला धेरै जोखिममा रहेको जनाउँदै प्राधिकरणले उच्च जोखिममा रहेका क्षेत्रमा सवारीसाधनको आवागमन राति तथा दिउँसो दुवै समयमा पूर्णरूपमा रोक्न सुझाव दिएको छ।
हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ तथा आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै आएको मौसमविद् लामिछानेले बताउनुभयो। यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जाने उहाँको भनाइ छ।
आज र भोलि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने पूर्वानुमान गरिएको छ। पूर्वी क्षेत्रमा भने वर्षाको गतिविधि क्रमशः घट्दै जाने र मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान छ। असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा भने न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ।

