उद्योगीको प्रतीक्षामा विनातलब १० वर्षदेखि चौकीदारी



विराटनगर,भदौ २५ । मजदूरहरूको ५१ प्रतिशत शेयर भएको जुद्ध म्याच फ्याक्ट्रीको सुरक्षामा दशकदेखि विनातलब चौकीदारी गरिरहेका छन्, ६२ वर्षीय मानबहादुर गुरुङ । २००३ सालमा जुद्धबहादुर श्रेष्ठको लगानीमा स्थापना भएको दि जुद्ध मैच फ्याक्ट्री २०६८ सालमा बन्द भएको हो ।

तर, शेयरधनी मजदूरहरू फ्याक्ट्रीको रेखदेखमा अहोरात्र निःशुल्क खटिइरहेका छन् । दशकअघि बन्द भएको दी जुद्ध म्याच उद्योगको गेटमा मानबहादुर पहरा दिइरहेका छन् । ‘एक दिन त उद्योगका मालिक आउलान् नि ?’ उनी भन्छन्, ‘त्यसपछि आफ्नो हिसाबकिताब गरेर उद्योगको गेट छाडुँला ।’

गुरुङ मात्र होइन, उनकै उमेरसमूहका कृष्ण देवान, नरबहादुर मगर र मानबहादुर मगर पनि दशकदेखि त्यसरी नै मालिक कुरिरहेका छन् । उनीहरू पनि आफ्नो बक्यौता लिन दशकदेखि उद्योगको गेटमा मालिक पर्खिंदै उद्योगको सामानको रेखदेख गर्दै आएका छन् ।

विस. २००३ सालमा स्थापना भएको यो उद्योगमा जुद्धबहादुरले २०४९ सालमा मजदूरहरूलाई ५१ प्रतिशत शेयर दिएका थिए र मजदूरहरूले नै उद्योग चलाएका थिए । २०६७ मा सुरेन्द्रलाल सुवालले उद्योग चलाएका थिए र त्यो १ वर्षपछि बन्द भएको थियो । पछिल्लो समय मजदूरकै व्यवस्थापनमा उद्योग सञ्चालन भएको थियो । अवैध रूपमा भारतीय सलाई आपूर्ति हुनुका साथै उद्योगलाई कच्चा पदार्थको अभाव भएपछि मजदूरले सुरेन्द्रलाल सुवाललाई आफ्नो शेयर विक्री गरेका थिए । उनले पनि उद्योग सञ्चालन गर्न नसकेपछि २०६८ सालमा बन्द भएको थियो । ‘सुवालले उद्योग बन्द गरे । तर, हामीले पाउनुपर्ने बक्यौता अझै पाएका छैनाैं,’ गुरुङले भने, ‘उद्योगमा सयभन्दा बढी कामदार स्थायी थिए । उनीहरू कसैले पनि पाउनुपर्ने तलब पाएका छैनन् ।’

मालिकको पर्खाइमा उद्योगमा पहरा दिइरहेका चारजनाले उद्योगका आठओटा कोठा भाडामा लगाएका छन् । विभिन्न निजी विद्यालयका पाँचओटा गाडी पार्किङ गर्न राखिएका छन् । त्यसबाट मासिक २० हजार जति भाडा उठ्छ । २०३९ सालमा स्थायी भएका कृष्ण देवानले भने, ‘त्यही रकम चार जनाले बराबरी बाँडेर गुजरा चलाउँदै आएका छौं ।’ उद्योगको नाममा पौने आठ बिगाहा जमीन छ । ठूलाठूला भवन छन् । उद्योगको जग्गाको मूल्य डेढ अर्बभन्दा बढी रहेको छ । देवानले भने, ‘उद्योगको कुनै पनि भौतिक सम्पत्ति अतिक्रमण हुन दिएका छैनौं ।

हामीले उद्योगको सुरक्षा गरिरहेका छौं । तर, मालिक सम्पर्कमै आउँदैनन् ।’ उनले पछिल्ला मालिक सुरेन्द्रलाल सुवाल काठमाडाैंमा बस्ने गरेको जानकारी दिए ।

२००३ सालमा जुद्धबहादुर श्रेष्ठले स्थापना गरेको उक्त उद्योग २०४९ सालदेखि मजदूरको व्यावस्थापनमा सञ्चालन भएको थियो । श्रेष्ठले उद्योगबाट हात झिकेपछि उद्योग बन्द हुँदा कार्यरत मजदूरहरूले ५१ प्रतिशत शेयर खरीद गरेर आप्mनै व्यवस्थापनमा उद्योग सञ्चालन गरेका थिए । त्यसपछि मजदूरले सुवाललाई आप्mनो सबै शेयर विक्री गरेका थिए ।

उद्योगको बाँकी शेयर पशुपतिशमशेर राणा र घनेन्द्रविक्रम शाहको नाममा रहेको बताइएको छ । उद्योगको नाममा नेपाल बैंक र विभिन्न वित्तीय संघसंस्थाको करीब ४ करोड ऋण रहेको स्थानीयको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्