सिमेन्टले बजार नपाउँदा मूल्यमा प्रतिस्पर्धा



वीरगञ्ज,भदौ २८ । सरकारी अध्ययनहरूले सिमेन्ट उत्पादनमा विदेशी लगानीको खाँचो औंल्याइरहेका बेला स्वदेशमा सञ्चालित यस्ता उद्योगले बजारको चरम अभाव सामना गरिरहेका छन् । सिमेन्टमा ठूलो परिमाणमा लगानी भित्रिए पनि बजार नबढेपछि चर्को प्रतिस्पर्धा देखिएको हो ।

पछिल्लो समय सिमेन्ट उद्योगमा आक्रामक लगानी भइरहेको छ । लगानीको तुलनामा बजार विस्तार हुन नसक्नु र कोरोना महामारीको असरले सिमेन्टको बजार खस्किँदा समस्या भएको इन्टनरनेशनल सिमेन्टका सञ्चालक सन्दीप अग्रवाल बताउँछन् । ‘सिमेन्ट उद्योगमा ठूलो मात्रामा आन्तरिक र बाह्य लगानी आयो । नयाँ लगानीमात्रै आएन, पुराना उद्योगले पनि क्षमता बढाए । बजारले भने अपेक्षित गति समात्न सकेन,’ सञ्चालक अग्रवालको अनुभव छ ।

सीमित मागमा अत्यधिक प्रतिस्पर्धा भएपछि उद्योगहरू गुणस्तरमा गरिने प्रतिस्पर्धाले नपुगेर यतिबेला मूल्य घटाउने तरिकामा उत्रिएका छन् । विगत १ वर्षयता सिमेन्टको मूल्य बोरामा १ सय रुपैयाँको हाराहारीमा घटिसकेको उद्योगीहरू बताउँछन् । ‘अहिले ओपीसीको कारखाना मूल्य ६०० र पीपीसीको ५०० रुपैयाँमा झरिसकेको छ । यसले कतिपय उद्योग नोक्सानी कम गर्न घाटा खाएर पनि सिमन्ट बेच्न बाध्य छन्,’ एक उद्योगीले भने ।

आफै क्लिंकर उत्पादन गर्ने उद्योगले त झन् सस्तोमा सिमेन्ट बेचिरहेका छन् । प्रतिस्पर्धा बढी भएपछि क्लिंकरको भाउसमेत खस्किएको छ । एक ताका प्रतिमेट्रिक टन (टन) ११ हजार रुपैयाँसम्म पुगेको क्लिंकरको मूल्य अहिले ६ हजार ५०० देखि ७ हजारसम्ममा झरेको उद्योगी बताउँछन् । सिमेन्ट उत्पादक संघका अनुसार नेपालमा सञ्चालित ६ दर्जनभन्दा बढी सिमेन्ट उद्योगमा जडित उत्पादन क्षमता वार्षिक २ करोड टन पुगिसकेको छ । नेपालको बजारमा खपत भने ७०/८० हजार टनमात्रै छ ।

उत्पादन क्षमता र मागबीचको यही अन्तरले उद्योगहरूबीच अस्वस्थ्य प्रतिस्पर्धा निम्त्याएको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुर बताउँछन् ।

कोरोना महामारीमा थलिएका उद्योगलाई राहत दिने खपत बढाउने विकास योजना र रणनीति चाहिने महाप्रबन्धक ठाकुरको तर्क छ । ‘लगानी बढे पनि माग नबढ्दा उद्यमीहरू चिन्तित छन् । कोरोना महामारीका कारण विकास योजना र निर्माणका काम अवरुद्ध भएपछि सिमेन्टको बजार थप समस्यामा परेको छ,’ उनले आर्थिक अभियानसित भने ।

उत्पादकले बजारमा सास्ती खेपिराख्दा केही समयअघि नेपाल राष्ट्र बैंकको अध्ययनले भने सिमेन्ट उत्पादनमा अझै बाह्य लगानी चाहिने देखाएको थियो ।

सञ्चालनमा रहेका उद्योगको जडितक्षमता १ करोड ५० लाख टन रहेकोमा आधा क्षमतामा मात्रै उपयोग भएको अध्ययनले देखाएको थियो । वार्षिक करीब ९० लाख टन मागमध्ये ७५ लाख टन स्वदेशी उद्योगबाट र अरू परिमाण आयात भइरहेको देखिएको थियो ।

अहिले नेपालमा तीनओटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी, दुईओटामा सरकारी र अन्यमा स्वदेशी निजीक्षेत्रको लगानी छ । कुल क्षमता उपयोगमा स्वदेशको निजीक्षेत्र अगाडि देखिएको छ ।

स्वदेशी लगानीकर्ताले ६३ दशमलव ७८ प्रतिशत क्षमता उपयोग गर्दा सरकारी र विदेशी लगानी सहभागी उद्योगले क्षमताको क्रमशः ५० र ४५ प्रतिशतमात्र उत्पादन गर्न सकेको सरकारी तथ्यांक छ ।

सिमेन्ट उद्योगको क्षमता मागको दोब्बर भइसकेको अवस्थामा बाहिरी लगानी ल्याउँदा झन् समस्या हुने स्वदेशी उत्पादकहरूको तर्क छ । सरकारले स्वदेशी बजार अपर्याप्त भएको भन्दै केही वर्षअघि सिमेण्टलाई निकासीयोग्य उत्पादन बनाउने योजना ल्याएको थियो । यो योजना कागजबाट कार्यान्वयनमा आउन नसकेको टिप्पणी उद्योगीहरूको छ ।
आगामी ५ वर्षभित्र सिमेन्टको आन्तरिक माग २ करोड ५८ लाख टन पुग्ने सरकारी अनुमान छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले यसमा अब बाहिरको लगानी ल्याउनु भनेको सञ्चालनमा रहेका उद्योगमाथि संकट बढाउनुमात्र भएको नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल बताउँछन् ।

‘सरकारले कस्तो उत्पादनमा बाहिरको लगानी ल्याउने र कस्ता क्षेत्रमा स्वदेशी लगानीकर्तालाई प्रवद्र्धन गर्ने भन्नेमा दीर्घकालीन रणनीति बनाउनुपर्छ । हामीकहाँ यसको अभाव देखियो,’ अध्यक्ष अग्रवालको बुझाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्