भीषण वर्षापछि पञ्चकन्यामा रुडेक नेपालको राहत, पुनःस्थापनामा सहकार्यको अपिल
नुवाकोट,भदौ ६ — यही भदौ ४ र ५ गते परेको भीषण वर्षाका कारण ठूलो जनधनको क्षति व्यहोरेको पञ्चकन्या गाउँपालिकामा रुडेक नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ।
वर्षाका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक पूर्वाधार, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी तथा खेतीयोग्य जमिनमा क्षति पुगेको छ। प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले रुडेक नेपालले उपलब्ध गराएको राहत सामग्री गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी तथा गाउँपालिका र रुडेक नेपालका कर्मचारीको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
विपद्को समयमा उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गाउँ प्रहरी तथा स्थानीय युवाप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ। विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारीप्रति समेत आभार व्यक्त गरिएको छ।
प्रभावित तथा जोखिममा रहेका परिवारलाई राहत वितरण र अस्थायी आवासको व्यवस्थापनको काम गाउँपालिका अध्यक्ष तामाङको प्रत्यक्ष नेतृत्व र रोहवरमा भइरहेको गाउँपालिकाले जनाएको छ।
स्थानीय तहको सीमित स्रोतसाधनबाट मात्र विपद्बाट भएको क्षतिको क्षतिपूर्ति तथा पुनर्निर्माण सम्भव नहुने भन्दै गाउँपालिकाले संघीय सरकार, प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा गैरसरकारी संघ–संस्थालाई आवश्यक सहयोग र सहकार्यका लागि अपिल गरेको छ।

