दुप्चेश्वर धाममा शनिबार भेटीस्वरुप १ लाख ३५ हजारभन्दा बढी रकम संकलन
नुवाकोट,भदौ ६ । नुवाकोटको दुप्चेश्वर धाममा आज शनिबार एकै दिन भेटीस्वरुप १ लाख ३५ हजार ७६ रुपैयाँ संकलन भएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार उक्त दिन भेटीका रूपमा १ लाख ३५ हजार ७६ रुपैयाँ संकलन भएको हो।
त्यस्तै क्यूआरमार्फत २ हजार ६ सय ११ रुपैयाँ र मध्याह्न आरतीबाट ४० हजार ८ सय १५ रुपैयाँ प्राप्त भएको छ।
कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार धाममा संकलित भेटी पारदर्शी रूपमा गणना गर्ने गरिएको छ। समय अनुकूल हुने श्रद्धालु तथा सर्वसाधारणलाई प्रत्येक दिन बेलुका ५ बजे भेटी गणना हुने स्थानमा सहभागी हुन आग्रह गरिएको छ।
दुप्चेश्वर गाउँपालिकामा रहेको दुप्चेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। दुप्चेश्वर क्षेत्र विकास कोषले भेटी संकलन तथा गणनालाई व्यवस्थित र पारदर्शी बनाउँदै आएको जनाएको छ।

