क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनमाथि छहरे प्रहरीको निगरानी
नुवाकोट,भदौ ६ । अस्थायी प्रहरी चौकी छहरेले क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनमाथि निगरानी तथा चेकजाँचलाई तीव्रता दिएको छ। चौकीले छहरेस्थित पेट्रोल पम्प नजिक ट्राफिक प्रहरीसमेतको सहभागितामा मालवाहक सवारीसाधनको भार जाँच गरेको हो।
चेकजाँचका क्रममा क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनबाट झारिएको अतिरिक्त भार सोही स्थानमा मध्यपहाडी लोकमार्गमा वर्षाका कारण बनेका खाल्डाखुल्डी पुर्न प्रयोग गरिएको प्रहरीले जनाएको छ। सडकमा परेका खाल्डा पुर्दा यात्रु तथा सवारी आवागमनमा समेत सहजता हुने अपेक्षा गरिएको छ।
प्रहरीले आगामी दिनमा क्षमताभन्दा बढी भार नबोक्ने सर्तमा सम्बन्धित सवारीसाधनलाई दुई हजार रुपैयाँको चिट काटेर छाडिएको जनाएको छ। अत्यधिक भारका कारण सडकमा क्षति पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले चेकजाँचलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।
पछिल्लो समय अस्थायी प्रहरी चौकी छहरेमा नयाँ नेतृत्व आएसँगै प्रहरीको सक्रियता बढेको स्थानीयको अनुभव छ। विभिन्न घटना तथा परिघटनामा प्रहरीको चुस्त र समयमै उपस्थिति हुन थालेपछि स्थानीयवासीले सुरक्षाको अनुभूति बढेको बताएका छन्।
स्थानीय सहभागितासहित प्रहरीको सक्रियता बढ्दा शान्ति सुरक्षा र सुशासन कायम गर्न थप सहयोग पुगेको स्थानीयको भनाइ छ।

