पोखरामा ८५ प्रतिशत पर्यटक आन्तरिक



पोखरा,कात्तिक ३ । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।

 फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ ।

पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दशैंको आगमनले ठूलै राहत पुर्‍याएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

दशैंमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको संक्रमण पनि घट्दै गएका कारण दशैंसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

दशैंअघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करीब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झन्डै १ हजार होटेल छन् । यसमध्ये १६ ओटा तारे होटेल छन् । कोरोना संकटपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको संख्या बढेको हो ।

यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झन्डै पौने ४ खर्ब बराबरको लगानी भइसकेको छ ।

हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक ५ प्रतिशत छन् । कुल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।

उनका अनुसार यस याममा पदयात्राका लागि फाट्टफुट्ट बुकिङ आउन थालेको छ । आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मर्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने गरेको उनले जानकारी दिए ।

दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरामा पर्ने भएकाले अधिकांशले २ देखि ३ दिनसम्मको समय छुट्ट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्छन् भने हिमाली दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटलगायत स्थान पुग्ने गर्छन् । पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने गरेको छ । लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्