ठमेल पर्यटन विकास परिषद्को प्रधानमन्त्री राहत कोषमा १६ लाखभन्दा बढी सहयोग
काठमाडौँ,कात्तिक २१ । ठमेल पर्यटन विकास परिषद्ले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि परिषद्ले शुक्रबार साँझ काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलमार्फत उक्त रकम हस्तान्तरण गरेको हो।
ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले प्रमुख जिल्ला अधिकारी पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्का बेला ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले पीडितका लागि गरेको सहयोगको उच्च प्रशंसा गर्नुभयो।
परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।
पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो दायित्व भएको जनाएको छ।
परिषद्का महासचिव पशुपति कँडेलका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेपछि परिषद्ले रसुवामै पुगेर रु २५ लाख बराबरको खाद्यान्न, भाडाकुँडा तथा लत्ताकपडा वितरण गरेको थियो।
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाबीच सहकार्य तथा एकताबद्ध प्रयास आवश्यक रहेको परिषद्ले जनाएको छ।

