मखमली र सयपत्री फूलको मूल्य वृद्धि



भक्तपुर,कात्तिक २१ । तिहार सुरु भएसँगै भक्तपुरमा फूल तथा मालाको मूल्य बढेको छ। व्यापारी र बिचौलियाले किसानको घरदैलोमै पुगेर प्रतिस्पर्धात्मक रूपमा बढी मूल्यमा फूलमाला खरिद गर्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो। मूल्य बढ्दा उपभोक्ता भने मारमा परेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानले उत्पादन गरेका मखमली र सयपत्री फूलको मूल्य तिहार नजिकिएसँगै बढेको छ। आज बजारमा मखमली फूलको एउटा माला रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ। किसानको घरबाट शुक्रबारसम्म रु २२ देखि रु २५ मा खरिद गरिँदै आएको मखमली माला आजदेखि रु ३० देखि रु ३५ मा खरिद गर्न थालिएको छ।

गुण्डुका पुष्प व्यवसायी प्रमिला घतानीका अनुसार व्यापारीले किसानबाट रु ३० देखि रु ३५ मा मखमली माला खरिद गरी बजारमा रु ८० देखि रु ९० सम्ममा बिक्री गरिरहेका छन्। किसानबाट खरिद गरिएको मूल्यभन्दा दोब्बरदेखि तेब्बरसम्म बढी मूल्यमा बिक्री हुँदा उपभोक्ता प्रभावित भएका छन्।

पुस्तौँदेखि फूलमाला उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथलीका बनमालाले पनि आजदेखि मखमली माला रु ३० मा बिक्री गर्न थालेको बताउनुभयो। तिहार नजिकिएसँगै फूलमालाको माग र मूल्य दुवै बढेको उहाँको भनाइ छ।

गुण्डुमा पछिल्लो १५ वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएकी मीना नगरकोटीले व्यापारी र बिचौलियाबीच प्रतिस्पर्धा बढ्दा किसानलाई भने राहत मिलेको बताउनुभयो। स्थानीय उर्मिला नगरकोटीका अनुसार फूलमालाको व्यापारबाट एक परिवारले रु एक लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्ने गरेका छन्। गुण्डुबाट मात्रै वार्षिक रु पाँच करोडभन्दा बढीको फूलमाला उत्पादन तथा बिक्री हुने गरेको छ।

स्थानीय अनिता बस्नेतले यस वर्ष ४० आना अर्थात् साढे दुई रोपनी जग्गामा फूलखेती गरेर रु तीन लाख आम्दानी गर्नुभएको छ। उहाँका अनुसार सयपत्री फूललाई मुठा बनाएर बिक्री गर्दा चार–पाँचवटा फूलको एक मुठाको रु २० देखि रु २५ सम्म पर्ने गरेको छ।

सयपत्री फूल पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ। तीन पाथीभन्दा बढी अट्ने ढ्वाङको फूल किसानले रु ७०० सम्ममा बिक्री गर्ने गरेका छन्। बजारमा भने सयपत्री फूल प्रतिकिलो रु ४०० देखि रु ५०० सम्ममा बिक्री भइरहेको बस्नेतले बताउनुभयो।

भक्तपुरका किसानले मखमली फूलको माला उनेर एक घरबाट वार्षिक रु ५०० देखि रु १० हजारसम्म आम्दानी गर्ने गरेका छन्। कतिपय घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री हुने गरेको स्थानीय बताउँछन्।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले आज सयपत्री फूल प्रतिकिलो रु ४५० र मखमली माला रु ७० मा बिक्री गरिरहेको बताउनुभयो। उहाँले भोलिदेखि फूलको मूल्य अझै बढ्न सक्ने जानकारी दिनुभयो।

यस वर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूलको उत्पादन घटेकाले मूल्य बढेको पुष्प व्यवसायी रामेश्वर बासीले बताउनुभयो। खुला ठाउँमा लगाइएको फूलखेती नष्ट हुँदा टनेलमा उत्पादन भएका फूल मात्रै बजारमा आएको उहाँको भनाइ छ। व्यापारीले सयपत्री फूलको माला आकारअनुसार प्रतिगोटा रु १५० देखि रु ८०० सम्ममा बिक्री गरिरहेका छन्।

तिहारको माग बढेसँगै फूलमालाको व्यापार फस्टाए पनि किसानबाट बजारसम्म पुग्दा मूल्यमा ठूलो अन्तर देखिएको छ।

प्रतिक्रिया दिनुहोस्