काग तिहारमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो



काठमाडौं, कात्तिक २१ – काग तिहारका अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

काग तिहारका दिन कागेश्वरी मन्दिरमा पूजा तथा दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्ष कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ ।

मन्दिरमा २२७ किलोको पित्तललगायत अष्टधातुबाट निर्मित कागको मूर्ति रहेको छ । यसलाई नेपालकै ठूलो कागको मूर्ति मानिन्छ । मन्दिरमाथिको सहिद उद्यानमा एक हजार किलो अष्टधातुबाट बनेको कागको मूर्ति पनि रहेको छ, जसलाई विश्वकै ठूलो कागको मूर्ति भएको जनाइएको छ ।

यसैगरी वसन्तपुर र पशुपति क्षेत्रमा रहेका कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा तथा आराधना गर्ने भक्तजनको भीड लागेको छ ।

काग तिहारका अवसरमा घरघरमा पनि कागलाई मिठा खानेकुरा दिएर पूजा तथा सम्मान गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्