बीमामा न्यूनतम दर तोक्नु जायज : नेपाल बीमक संघ



काठमाडौं,पुस १४ । नेपाल बीमक संघले नन ट्यारिफ बीमाको शुल्कमा तोकिएको न्यूनतम दर अन्तरराष्ट्रिय अभ्यास अनुसार भएको बताएको छ । नन ट्यारिफ बीमामा न्यूनतम दर तोकेको विषयमा निजी क्षेत्रले विरोध गरिरहेको सन्दर्भमा बीमक संघले यस्तो प्रतिक्रिया दिएको हो ।

संघले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै बीमामा तोकिएको न्यूनतम दर अन्तरराष्ट्रिय प्रचलनअनुसार रहेको बताएको हो  । नेपालमा सम्भावित जोखिमहरूलाई समेत दृष्टिगत गर्दै न्यूनतम बीमाशुल्क निर्धारण गरिएकाले विरोध गर्न आवश्यक नरहेको संघले बताएको छ । जोखिमको मूल्यांकन, प्राप्त हुन सक्ने बीमाशुल्क, सम्भावित क्षति र अन्तरराष्ट्रिय अभ्यासलाई आधार मानेर उक्त दर तोकिएको संघको भनाइ छ ।

बीमा समितिले गत असोज ६ गते नन ट्यारिफ बीमाका लागि न्यूनतम दर तोकिदिएको थियो । त्यसपछि निजी क्षेत्रले बीमाशुल्क महँगो हुने तर्क गर्दै त्यसको विरोध गर्दै आएको छ । यसै हप्ता स्वतन्त्र ऊर्जा व्यवसायीहरूको संस्था नेपाल (इप्पान) र नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बीमा समितिको उक्त निर्देशन खारेज गर्न माग गरेका थिए । निर्देशन खारेज नभए आन्दोलन गर्ने चेतवानीसमेत दिएका छन् । त्यसको जवाफमा नेपाल बीमक संघले निर्जीबन बीमामा न्यूनतम तर तोक्नु जायज भएको बताएको हो ।

बीमा कम्पनीहरूले व्यवसाय पाउनका लागि एकदमै सस्तो दरमा बीमा गर्न थालेका थिए । यसरी सस्तो दरमा गरेको बीमा विदेशी पुनर्बीमा कम्पनीहरुले लिन समेत मानेका थिएनन् । यसरी बीमा क्षेत्र नै जोखिममा हुनेगरी अस्वस्थ प्रतिस्पर्धाको विकास भएपछि समितिले निर्जीवन बीमामा न्यूनतम दर तोेकेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्