नारायणघाट–बुटवल सडकको डिभाइडरमा दुबो रोपिँदै
नवलपूर, मंसिर ८ । नारायणघाट–बुटवल सडकखण्डको बीचमा रहेको डिभाइडरमा दुबो रोप्ने काम सुरु भएको छ। चार लेनमा विस्तार सम्पन्न भएको करिब ११३ किलोमिटर सडकलाई सुन्दर बनाउन गैँडाकोट, देवचुली, कावासोतीलगायत क्षेत्रमा दुबो तथा सजावटी बिरुवा रोप्न थालिएको हो।
आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार सडकको कालोपत्र गर्ने मुख्य काम सकिएको छ। अहिले सडक किनारमा रङरोगन, पैदलमार्ग निर्माण, रेलिङ जडान तथा निर्माणका क्रममा देखिएका त्रुटि सुधार गर्ने काम भइरहेको छ।
करिब १७ अर्ब रुपैयाँ लागतमा निर्माण भएको सडक गत साउनमा आयोजनाले जिम्मा लिएको हो। निर्माण कम्पनीले आगामी पाँच वर्षसम्म सडकमा देखिने त्रुटि सच्याउनुपर्ने व्यवस्था रहेको आयोजनाले जनाएको छ।

