लगानीकर्ताको समस्यामा सहजीकरण गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं,पुस २० । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको समस्यामा तत्काल सहजीकरण गर्न  लगानी बोर्डका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतवार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले आयोजनाहरूको अवधि लम्बिनु कसैको पनि हितमा नहुने भन्दै लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । ‘आयोजनाको निर्माण अवधि लम्बिँदा लगानी बढेर घाटा हुन्छ,’ उनले भने, ‘एउटा आयोजनाको फाइल डेढ महीनादेखि रोकिएको कुुरा आयो, यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।’     

समय नै सबैभन्दा ठूलो पूँजी भएको उनले बताए । ‘परियोजनाको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढंगले भन्ने हो भने हामीलाई घाटा हुने हो,’ उनले भने, ‘व्यावसायिक रूपर्ले हेर्ने हो भने पनि समय बिल्कुलै लम्ब्याउनु हुँदैन ।’

पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरे । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महŒवपूर्ण योगदान हुने भन्दै उनले सरकारले लगानी भिœयाउन थप अनुकूल वातावरण तयार पार्ने बताए ।

लगानी बोर्डको उपाध्यक्षसमेत रहेका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन दिए ।

यसैबीच, बोर्डको कार्यालयमा ‘इन्भेस्टर्स लाउन्ज’ सञ्चालनमा ल्याइएको छ । अर्थमन्त्री शर्माले उक्त लाउन्जको उद्घाटन गरेका हुन् । उक्त अवसरमा उनले लगानीकर्तालाई कानूनले भ्याएसम्मका सुविधा दिन सरकार तयार रहेको भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरे । ‘इन्भेस्टर्स लाउन्ज’ कक्षबाट नेपालमा लगानीका सम्भावना, क्षेत्रहरू, परियोजना बैंकमा समावेश भएका आयोजनाबारे जानकारी दिइनुका साथै लगानीकर्ताका लागि अनलाइन सेवा उपलब्ध हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्