चिकित्सा शिक्षा सुधार र डा. केसीसँग भएका सम्झौता कार्यान्वयनमा सरकारको पहल



काठमाडौं, मंसिर ७ । चिकित्सा शिक्षा क्षेत्रको सुधार तथा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताबारे समीक्षा गरिएको हो।

छलफलमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो। त्यस्तै, वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गरी पठाउने तथा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा समेत छलफल भएको छ।

बैठकमा कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषय पनि उठाइएको थियो।

शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवालले चिकित्सा शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउन अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीले चिकित्सा शिक्षाको गुणस्तर सुधार र परीक्षाको नतिजा समयमै सार्वजनिक गर्नेलगायतका विषयमा आयोगले आवश्यक काम गरिरहेको जानकारी दिनुभयो।

बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र सम्बन्धित निकायबीचको समन्वयलाई तीव्रता दिने विषयमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्