सामान्य प्रश्न गरेपछि फेसबुकबाट हटाइएँ : सांसद आशिका तामाङप्रति पत्रकार कमल सरगमको गुनासो
काठमाडौँ,मंसिर ८। पछिल्लो समय सांसद आशिका तामाङको राष्ट्रिय स्वतन्त्र पार्टीकै अर्का सांसद केपी खनालले फोन नठाएको सन्दर्भ चर्चामा आइरहेको बेला कलाकार एवम् पत्रकार कमल सरगमले सांसद आशिका तामाङसँग सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै जनप्रतिनिधिले प्रशंसा मात्रै नभई आलोचना र प्रश्नसमेत स्वीकार गर्न सक्नुपर्ने बताएका छन्।
सरगमले आफ्नो फेसबुकमार्फत सांसद तामाङलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा सामान्य प्रश्न गरेकै कारण आफूलाई फेसबुकको साथी सूचीबाट हटाइएको उल्लेख गरेका छन्। कुनै समय तामाङका कामबाट प्रभावित भएर प्रशंसक बनेका र उनका सामाजिक अभियानमा व्यक्तिगत कमाइबाट समेत सहयोग गरेका आफू पछिल्लो व्यवहारबाट निराश भएको उनको भनाइ छ।
उनले सांसद तामाङका केही सामाजिक काम प्रशंसनीय रहेको उल्लेख गर्दै आफूले पनि ती काममा आर्थिक सहयोग गरेको बताएका छन्। तर कसैको प्रशंसक हुनुको अर्थ उसका सबै काम र कार्यशैलीमा सहमत हुनुपर्छ भन्ने नरहेको उनको तर्क छ। आफूले उठाएका प्रश्न विरोधका लागि नभई सुधारको अपेक्षासहित रहेको उनले स्पष्ट पारेका छन्।
स्टाटसमा सरगमले धादिङका एक नागरिक समस्यामा परेर अलपत्र परेको घटनासमेत उल्लेख गरेका छन्। ती नागरिकको पीडा सुनेपछि सहयोगको अपेक्षासहित सांसद तामाङलाई पटक–पटक फोन गरेको तर फोन नउठेको र पठाएको सन्देशको समेत जवाफ नआएको उनको गुनासो छ।
एक नागरिक समस्यामा पर्दा जनप्रतिनिधिसँग सहयोगको अपेक्षा गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले जनताबाट निर्वाचित प्रतिनिधि जनताको फोन उठाउने, उनीहरूको समस्या सुन्ने र सम्भव भएसम्म सम्बोधन गर्ने जिम्मेवारीबाट विमुख हुन नहुने धारणा राखेका छन्।
‘चुनाव जितेर जनताको प्रतिनिधिका रूपमा पुगेपछि जनताप्रतिको जवाफदेहिता झन् बढ्नुपर्ने होइन र?’ भन्ने प्रश्न गर्दै सरगमले जनप्रतिनिधिले नागरिकका गुनासा र पीडालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
कलाकारिताबाट राजनीतिमा प्रवेश गरेकी सांसद तामाङलाई जनताको माया, विश्वास र साथले नै वर्तमान स्थानमा पुर्याएको उल्लेख गर्दै सरगमले सामान्य प्रश्न गर्ने व्यक्तिलाई सामाजिक सञ्जालबाट हटाउनुभन्दा उसका प्रश्न सुन्ने धैर्य र जवाफ दिने साहस देखाउनुपर्ने सुझाव दिएका छन्।
उनले आफ्नो मनमा सांसद तामाङप्रति कुनै द्वेष नरहेको पनि स्पष्ट पारेका छन्। तर जनप्रतिनिधि भएपछि प्रशंसा मात्रै होइन, आलोचना र प्रश्नसमेत स्वीकार गर्नुपर्ने उनको भनाइ छ। प्रश्न गर्ने सबै व्यक्ति विरोधी नहुने र कतिपय प्रश्नकर्ताले सुधारको अपेक्षासहित सुझाव दिने गरेको उनले उल्लेख गरेका छन्।
‘तपाईंले अरूलाई प्रश्न गरिरहँदा ती प्रश्न कुनै दिन आफैँतिर पनि फर्किन सक्छन् भन्ने कुरा कहिल्यै नबिर्सनुहोला,’ उनले लेखेका छन्।
सरगमले आफ्नो स्टाटसको अन्त्यमा सांसद तामाङको आगामी राजनीतिक यात्राको सफलताको कामना गर्दै जनताको आवाज सुन्ने र उनीहरूको पीडामा साथ दिने प्रतिनिधिका रूपमा अघि बढ्न शुभकामना दिएका छन्।
सरगमको उक्त स्टाटसले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध, सामाजिक सञ्जालमा उठ्ने प्रश्नप्रतिको व्यवहार तथा जनप्रतिनिधिको जवाफदेहिताबारे बहसको विषय उठाएको छ। यद्यपि, सरगमले स्टाटसमा उल्लेख गरेका घटनाबारे सांसद आशिका तामाङको प्रतिक्रिया भने समावेश गरिएको छैन।

