प्रथम लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दोमा दिपिका र सुराजन उत्कृष्ट खेलाडी घोषित



नेपालगन्ज,मंसिर ७ । भृकुटी तेक्वान्दो डोजाङ, नेपालगन्जले आयोजना गरेको प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको समन्वयमा अगैयामा आयोजना गरिएको दुई दिने प्रतियोगिता आइतबार सम्पन्न भएको हो । 

लुम्बिनी प्रदेशका सात वटा जिल्लाका खेलाडी सहभागी भएको प्रतियोगितामा बाँकेकी दिपिका थापा र दाङका सुराजन चौधरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरुलाई प्रतियोगिताभरको प्रदर्शनको आधारमा उत्कृष्ट घोषित गरिएको हो । दिपिकाले ४२ केजी मुनि तौल समूहमा स्वर्ण पदक र सुराजनले ५१ केजी मुनि तौल समूहमा रजत पदक जितेका थिए ।

प्रतियोगितामा गेरुगी र पुम्से विधा समेटिएको थियो । गेरुगीको महिला ४४ केजी मुनि तौल समूहमा बर्दियाकी ममता रावतले स्वर्ण जितिन् । बाँकेकी युनिका डाँगीले रजत तथा कपिलबस्तुकी कोपिला डाँगी र दाङकी विनिता विकले कास्य पदक जिते । ४६ केजी मुनिमा रुपन्देहीकी लिजा चौधरीले स्वर्ण, प्यूठानकी सिन्थिया थापाले रजत, कपिलवस्तुकी रितु राजकोटी र दाङकी लक्ष्मी केसीले कास्य पदक जिते ।

४२ केजी मुनिमा बाँकेकी दिपिका थापाले स्वर्ण, प्यूठानकी दीक्षा धामीले रजत, बर्दियाकी सपना खड्का र रोल्पाकी स्वस्तिका थारुले कास्य पदक हात पारे । ४९ केजी मुनिमा बर्दियाकी स्वर्णिमा घर्तिले स्वर्ण, बाँकेकी सृष्टि चन्द रजत, दाङकी रोजी वली र नवलपरासीकी सुजता थारुले कास्य पदक जितेका छन् ।

पुरुषतर्फ ४५ केजी मुनि सल्यानका विवेक शाहीले स्वर्ण, बाँकेका सिमन थारुले रजत, रोल्पाका विकेश घर्ती र दाङका बिस्ने परियारले कास्य पदक जिते । ४८ केजी मुनि प्युठानका प्रेम विकले स्वर्ण र सल्यानका तिलक थारुले रजत पदक जितेका छन् । ५१ केजी मुनि बाँकेका गौरव सिंहले स्वर्ण, दाङका सुराजन चौधरीले रजत, प्युठानका दिनेशराज गिरी र सल्यानका धर्मराज विकले कास्य पदक जिते ।

५४ केजी मुनि प्युठानका सङ्घर्ष खड्काले स्वर्ण, बाँकेका निराजन शाहीले रजत, बर्दियाका अनुप चौधरी र कपिलवस्तुका तिलक रानाले कास्य पदक हात पारेका छन् । सिनियर पुम्से महिलामा बाँकेकी मल्लिका शाही र पुरुषमा बर्दियाका नवराज बस्नेतले स्वर्ण जितेका छन् । प्रतियोगितामा बाँके प्रथम र बर्दिया द्वितीय भएको छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले खेल र खेलाडीको विकासमा आफू सधैँ लागिपर्ने बताउँदै यही आर्थिक वर्षभित्र ट्रस्ट बनाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रमेश तिमिल्सेनाको अध्यक्षतामा भएको समापन समारोहमा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नम्बर ८ का अध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ३ का महिला सदस्य रिता दमाई, पालिकाका खेलकुद प्रशिक्षक प्रतापसिंह थारु, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा, बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने, सचिव जंगबीर थारु, भृकुटी तेक्वान्दो डोजाङका संयोजक उमादेवी थापा, प्रशिक्षक एवं प्रतियोगिताका संयोजक चन्द्रप्रकाश श्रेष्ठ लगायतले विजेता टीम तथा खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । 

सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्