सुनचाँदी व्यवसायीका मुख्य तीन माग



काठमाडौं,पुस २१। नेपाल सुनचाँदी व्यवसायी महासंघले जर्तीको मापदण्डमा एकरूपता कायम गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी जर्तीको मापदाण्डमा एकरूपता कायम गर्नुपर्नेसहितका माग आर्थिक नियमावलीमार्फत पूरा गर्न भनेको हो ।

भेटमा व्यवसायीका तर्फबाट मुख्य तीनओटा माग अगाडि सारिएको थियो । त्यसमध्ये पहिलोमा जर्तीको मापदण्डमा एकरूपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने छ । हाल जर्तीसम्बन्धी ठोस व्यवस्था नहुँदा फरक–फरक दर कायम हुँदै आएको छ ।

त्यस्तै व्यवसायीले सुनचाँदीजस्तो बहुमूल्य धातुको कारोबारमा नगद कारोबारको सीमा ५० हजारबाट बढाएर १० लाख पुर्‍याउनुपर्ने माग गरेका छन् । व्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखापरीक्षणसम्बन्धी व्यवस्थामा एकरूपता हुनुपर्ने रहेको छ । व्यवसायीले उठाएका मागहरूलाई विभागका महानिर्देशक पौडेलले अध्ययन गरी सम्बोधन गर्न पहल गर्ने बताएका छन् । ‘व्यवसायीका समस्या समाधान गर्न विभागले सदैव सहयोग गर्दै आएको छ । अब पनि के गर्न सकिन्छ त्यो अध्ययन गरी हामी आवश्यक निर्णय लिन्छौं,’ उनले भने ।

यसैबीच महासंघका अध्यक्ष शाक्यले स्पष्ट कानूनी व्यवस्थाको अभावमा बजारमा व्यवसायीबीच द्विविधा उत्पन्न नहोस् र व्यवसायीले आपूmखुशी जर्तीको सीमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक–फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत उक्त विषय समेट्न आग्रह गरिएको बताए । उक्त व्यवस्थाबाट सरकारी राजस्वमा समेत योगदान पुग्ने उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्