प्रदेश सरकारलाई हेलिकोप्टर आवश्यक : मन्त्री कार्की



विराटनगर,पुस २१ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई हेलिकोप्टर आवश्यक रहेको बताएका छन् । विपद्का बेला काठमाडौंबाट हेलिकोप्टर आउन समय लाग्ने भएकाले विराटनगरमै रहनेगरी प्रदेश सरकार मातहतको हेलिकोप्टर आवश्यक रहेको उनले बताएका हुन् ।

उद्धारका लागि संघीय राजधानीको मुख ताक्दा उद्धारमा ढिला भएर बढी क्षति हुने गरेको मन्त्री कार्कीले बताए । ‘बाढी पहिरोको विपद्का बेला, पर्यटक पदमार्गमा फसेको बेला वा अन्य कुनै संकट आइपर्दा प्रदेश सरकारले हेलिकोप्टरका लागि काठमाडौंकै मुख ताक्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यो अवस्था अन्त्यका लागि प्रदेश सरकारलाई संघीय सरकारले एउटा हेलिकोप्टर दिनुपर्‍योे या त खरिदका लागि बजेटको व्यवस्था गरिदिनुपर्छ ।’ एउटा हेलिकोप्टर १५ करोडदेखि २० करोड रुपैयाँसम्ममा किन्न सकिने भएकाले संघीय सरकारले बजेटको व्यवस्था नगरे प्रदेश सरकारले नै किन्ने उनले बताए ।

गतवर्षको बाढी, पहिरोले प्रदेश १ मा ७२ जनाको मृत्यु भएको उल्लेख गर्दै मन्त्री कार्कीले पहिरो गएको स्थानमा समयमै हेलिकोप्टर पुग्न सकेको भए घाइतेले ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए । ‘पाँचथरमा भएको बस दुर्घटनाका घाइतेलाई पनि समयमा उद्धार गरेर विराटनगर ल्याउन सकेको भए उनीहरूले पनि अकालमा ज्यान गुमाउनुपर्ने थिएन,’ उनले भने । नागरिकले हेलिकोप्टर कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले अब प्रदेश सरकारले एउटा हेलिकोप्टरको व्यवस्था गर्ने उनले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्