सुस्तायो हस्तकला व्यापार



काठमाडौं,माघ ९ । कोरोना महामारी शुरु भएदेखि नै करीब २ वर्षयता थुप्रै उतारचढावको सामना गर्दै आएको हस्तकला व्यवसायको व्यापार पछिल्लो समय बढ्दै गए पनि ओमिक्रोन भाइरसको प्रभावका कारण पुनः सुस्ताएको छ ।

भाइरसको प्रभाव बढेर विदेशी मुलुकमा सामानहरू निर्यात गर्न समस्या भएपछि व्यापार सुस्ताएको हो । नेपाललगायत अन्य मुलुकमा समेत भाइरसको संक्रमण दर बढ्दै गएपछि हस्तकला सामग्रीको निर्यात व्यापार ३० प्रतिशतमा सीमित भएको छ । निर्यात घट्नुको मुख्यकारण विदेशी मुलुकबाट माग घट्नु र कार्गोको भाडादर बढ्नु रहेको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आर्थिक अभियानलाई बताए ।

उनका अनुसार अहिले कार्गोको भाडादर ५ गुनासम्म बढेको छ । व्यवसायले गति नलिएका बेला बढेको भाडादरमा व्यवसायीहरूलाई सामान निर्यात गर्न झनै समस्या भएको छ ।

उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र करीब १ हजारभन्दा बढी हस्तकला सामग्रीका पसल रहेको महासंघको तथ्यांक छ । पछिल्लो समय ओमिक्रोन भाइरसको प्रभावले ती सबै पसल प्रभावित भएका छन् ।

पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको व्यवसाय भएकाले पनि नेपालमा आउने पर्यटक घट्नेबित्तिकै हस्तकला सामग्रीको व्यापार घट्ने गर्छ । अहिले पर्यटन व्यवसायसमेत सुस्ताएका कारण व्यवसायमा झनै समस्यामा परेको छ ।

नेपालमा महामारी शुरू भएयता काठमाडौंका ठमेल, असन, न्यूरोड र वसन्तपुरलगायत क्षेत्रका हस्तकला सामग्रीका करीब ३० प्रतिशत पसल बन्द भइसकेको अध्यक्ष शाक्यले जानकारी दिए ।

महासंघको तथ्यांकअनुसार नेपालको आन्तरिक बजारमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामग्री विक्री हुने गर्छ । यद्यपि नेपाली हस्तकला सामग्रीको ठूलो बजार भने अमेरिका, चीन र अन्य यूरोपेली मुलुकहरू हुन् । नेपालबाट यी मुलुकमा वार्षिक रूपमा ११ देखि १५ अर्ब रुपैयाँसम्मको हस्तकला सामग्री निर्यात हुने गर्छ । व्यापारी, उद्यमी, श्रमिकसहित करीब ११ लाख मानिस यस क्षेत्रसँग आबद्ध छन् ।

तर, अहिले महामारीको प्रभावका कारण विगत २ वर्षदेखि वार्षिक ५ अर्बको कारोबार पनि हुन सकेको छैन भने ४० प्रतिशतभन्दा बढी मानिसले रोजगारी गुमाइसकेको महासंघले जानकारी दिएको छ ।

महामारीका कारण व्यवसाय निकै सुस्ताएका कारण अब नेपालमा नै नेपाली हस्तकलाका सामग्रीको प्रयोग तथा खपत बढाउनुपर्नेमा उनले जोड दिए । नेपालमा उत्पादन हुने करीब ४२ प्रकारका हस्तकला सामग्रीको करीब ३० प्रतिशत मात्र नेपालमा खपत हुनसकेमा पनि व्यवसायलाई निकै सहज हुने विश्वास उनले व्यक्त गरे ।

नेपाल सरकारले हस्तकला व्यवसायीप्रति उदासीनता देखाएका कारण व्यवसायीहरूले महामारीको समयमा मात्र होइन अरू बेला पनि दुःख भोग्नु परेको व्यवसायीहरूको गुनासो छ । नेपाली हस्तकलाको प्रवर्द्धन र ल्याब परीक्षणका लागि ३ वर्षअघि त्रिपुरेश्वरस्थित तीन रोपनी जग्गामा निर्माण गरिएको हस्तकला सार्क भवनको सञ्चालन हुन सकेको छैन । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्