प्रत्यक्ष वैदेशिक लगानी : जीडीपीमा योगदान कमजोर



काठमाडौं,माघ १७ । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत पनि योगदान नगरेको सरकारी अध्ययनले देखाएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानले हालै अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान कमजोर देखिएको हो ।

जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान शून्य दशमलव ५४ प्रतिशत मात्रै रहेको अध्ययनले देखाएको छ । सार्क मुलुकमध्ये प्रत्यक्ष वैदेशिक लगानीबाट जीडीपीमा बढी योगदान लिनेमा माल्दिभ्स रहेको छ । उक्त देशको जीडीपीमा १७ दशमलव ५ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानीको अंश छ ।

प्रत्यक्ष वैदेशिक लगानीले जीडीपीमा बढी योगदान गरेको दोस्रो मुलुकमा भारत पर्छ । भारतको जीडीपीमा वैदेशिक लगानीको अंश १ दशमलव ७६ प्रतिशत रहेको छ । पाकिस्तानको जीडीपीमा शून्य दशमलव ८० प्रतिशत, बंगलादेशको शून्य दशमलव ६३ प्रतिशत र नेपालको जीडीपीमा शून्य दशमलव ५४ प्रतिशत योगदान वैदेशिक लगानीको रहेको छ ।

वैदेशिक लगानी कहाँकहाँबाट आउछ ?
नेपालमा वैदेशिक लगानीमा भारतको सबैभन्दा धेरै अंश रहेको छ । भारतको ५६ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपालमा हुने वैदेशिक लगानीमा भारतको ३१ प्रतिशत अंश रहेको छ । दोस्रोमा रहेको चीनबाट २७ अर्ब ५६ करोड लगानी भएको छ भने तेस्रोमा रहेको क्यारेबियन देश सेन्ट किट्स एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

चौथोमा रहेको आयरल्यान्डबाट ११ अर्ब ९३ करोड, सिंगापुरबाट ८ अर्ब ७२ करोड, अस्ट्रेलियाबाट ७ अर्ब ६३ करोड, यूएईबाट ६ अर्ब ८५ करोड, बंगलादेशबाट ५ अर्ब ११, दक्षिण कोरियाबाट ४ अर्ब ४७ करोड र अमेरिकाबाट ४ अर्ब ४७ करोड वैदेशिक लगानी भित्रिएको देखिएको छ । जुलाईसम्म २०१९ सम्म नेपालमा १ खर्ब ८२ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । २०१९/२० मा नेपालमा वैदेशिक लगानीबापत १९ अर्ब ६७ करोड भित्रिएकोमा १६ अर्ब ७ करोड जलविद्युत् तथा सिँचाइ क्षेत्रमा आएको देखिएको छ ।

वैदेशिक लगानी कुनकुन क्षेत्रमा कति ?
प्रतिष्ठानको अध्ययनअनुसार नेपालमा आएको वैदेशिक लगानीमध्ये करीब ८२ प्रतिशत ऊर्जा, ग्यास र सिँचाइ परियोजनामा आउने गरेको छ ।

त्यस्तै, ट्रान्सपोर्ट स्टोरेज र कम्युनिकेशन क्षेत्रमा ७ प्रतिशत र बाँकीमा ११ प्रतिशत लगानी भित्रिएको छ । वैदेशिक लगानीमध्ये वाग्मती प्रदेशमा ६५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा १४ प्रतिशत, मधेश प्रदेशमा १० प्रतिशत लगानी आएको छ भने बाँकी १० प्रतिशत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगानी भएको अध्ययनले देखाएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्