३३ प्रतिशतसँग एटीएम कार्ड



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भएसँगै ३३ प्रतिशत जनसंख्यामा डेबिट कार्ड (एटीएम कार्ड) पुगेको देखिएको छ ।

तथ्यांक विभागले हालै सार्वजनिक गरेको २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा र नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकलाई आधार मान्दा कुल जनसंख्याको ३३ दशमलव ७६ प्रतिशतले मात्र एटीएम कार्ड लिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पुससम्म एटीएम कार्ड लिनेको संख्या ९८ लाख ५५ हजार २२१ पुगेको छ । यसमध्ये वाणिज्य बैंकबाट ९३ लाख ९९ हजार ५२५, विकास बैंकबाट ४ लाख १७ हजार ८४६ र फाइनान्स कम्पनीबाट ३७ हजार ८५० एटीएम कार्ड जारी भएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यस जनसंख्यालाई आधार मान्दा ३३ प्रतिशत जनसंख्याले एटीएम कार्ड लिएको देखिएको हो ।

बैंकिङ क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै क्यूआर कोड र मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दै गएका छन् । तर, यी प्रविधिले एटीएमलाई विस्थापन गर्न नसक्ने नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले बताए । उनका अनुसार एटीएम कार्ड विस्थापन हुनलाई नगदरहित कारोबार व्यापक हुनुपर्छ । ‘क्यूआर कोडको प्रयोगले नगद कारोबार कम भएको छ । तर, नगद कारोबार विस्थापन नभई एटीएम विस्थापन हुन सक्दैन । बरु एटीएमकै रूपमा नयाँ प्रविधि भित्रिन सक्छ,’ उनले भने । पछिल्लो समय बैंक खाता बढेको अनुपातमा एटीएम कार्ड लिनेको संख्या नबढेको ज्ञवालीले बताए ।

गतवर्षको पुसदेखि चालू आवको पुससम्ममा एटीएम कार्ड लिनेको संख्या १८ लाख ६ हजार थपिएको छ । अघिल्लो वर्षको यस अवधिको दाँजोमा यो संख्या २२ दशमलव ४४ प्रतिशतले बढी हो ।

क्रेडिट कार्ड लिनेको संख्या भने बढेको छ । गत आवको पुससम्म १ लाख ७६ हजार ४१४ जनाले क्रेडिट कार्ड लिएका चालू आवको सोही अवधिमा २ लाख १५ हजार १९९ ले लिएका छन् । १ वर्षको अन्तरालमा क्रेडिट कार्ड लिनेको संख्या ३८ हजार थपिएको हो । यो भनेको २१ दशमलव ९८ प्रतिशतले बढी हो ।

यस अवधिमा प्रिपेड कार्ड लिनेको संख्या पनि बढेको छ । गत आवको पुससम्म ५५ हजारले प्रिपेड कार्ड लिएका थिए भने चालू आवको सोही अवधिमा ८६ हजार ७९९ जनाले प्रिपेड कार्ड लिएका छन् । यो गत आवको पुससम्मको तुलनामा ३१ हजारले बढी हो । प्रिपेड कार्ड बैंकमा खाता भएका र नभएका दुवैले निश्चित रकम तिरेर प्राप्त गर्ने कार्ड हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्