दक्षिण कोरियाका राजदूतसँग परिसंघको छलफल



काठमाडौं,जेठ ४। नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । 

परिसंघ सचिवालयमा बुधवार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देशबीचको कुटनैतिक सम्बन्ध स्थापित भएको ५०औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्त्वपूर्ण भएको बताए । छलफलमा अध्यक्ष अग्रवालले कोरियाली लगानीकर्तालाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन, जलविद्युत्, कृषि लगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङलाई आग्रह गरे ।

सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केही कानूनमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तव्य रहेको बताए । दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको बताउँदै नेपाली श्रमिकले कोरियामा सिकेको शीप नेपालमा उद्यमशीलताका साथै समग्र आर्थिक विकासमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनले परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’मा कोरियाबाट उल्लेख्य लगानीकर्ताको सहभागिताका लागि राजदूत तइयोङसँग आग्रह गरे । सो अवसरमा राजदूत तइयोङले परिसंघले सञ्चालन गरेको ‘मेक इन नेपाल – स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्‍याउने बताए । उनले नेपाली श्रमिकको कोरियाकोे श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको वताउँदै नेपाली मेहनती तथा इमान्दार रहेको बताए । नेपालको आर्थिक विकासमा आवश्यक सहयोगगर्ने विषयमा दक्षिण कोरिया सधैं सकारात्मक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्