गोरखा मोडललाई ६६ रनले हराउँदै वडा नम्बर ७ को लगातार दोस्रो जित



दाङ,वैशाख ६ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ ।

मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई ६६ रनले हराउँदै लमही नगरपालिका वडा नम्बर ७ लगातार दोस्रोचोटी बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा १ सय ५२ रनको योगफल तयार गय्रो ।

वडा नम्बर ७ का लागि बिजय भुषालले सर्बाधिक ४० रनको योगदान दिए । उनले २ छक्का र ४ चौका प्रहार गरे । वडा नम्बर ७ का लागि गतिलो टार्गेट निर्माणमा उनको उल्लेख्य भुमिका छ । ७ औँ नम्बरमा ब्याट समाउन पुगेका भुषाल मैदानमा प्रबेश गरे सँगै खेल नै बद्लियो । सुरुवाती प्रदर्शन खासै राम्रो नभएपनी भुषालको ईन्ट्रीले खेलनै रोमाञ्चक बन्यो ।
त्यस्तै ओपनर ब्याट्सम्यान नवीन आचार्यले १ छक्का र २ चौकाको मद्धतले २६ रनको योगदान दिए । वडा नम्बर ७ को योगफल तयार गर्न सनम श्रेष्ठ र सुरेश दर्लामीले समान २/२ चौकाको मद्धतमा क्रमश १४ र ९ रनको योगदान दिए । सन्देश केसीले १ चौका सहित १० रन बनाए भने सुरज धितालले ११ रन प्रहार गरे ।
गोरखा मोडलका लागि राज कुमार कुमाल र बिष्णु सिँहले क्रमश ४ र ३ विकेट हात पारेपनी वडा नम्बर ७ लाई सस्तैमा समेट्न भने सकेनन् । त्यस्तै कमल वली र दिनेश कँवरले समान १/१ विकेट लिए ।

१ सय ५३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको गोरखा मोडल क्रिकेट एकेडेमीले अनेक प्रयास थालेपनी टिमलाई जित दिलाउन भने सकेन । पहिलो ओभरमै २ विकेट गुमाएपछी गोरखा मोडललाई भरपुर दबाव सँग सामना गर्न पय्रो । त्यस लगत्तै नराम्रो खेल प्रदर्शन गरिरहेको गोरखा मोडल अन्त्यमा १८.१ ओभरमा पूरा विकेट गमुाउदै ८६ रनमै समेटियो ।
गोरखाका लागि कमल वलीले १ छक्का र १ चौकाको मद्धतले सर्बाधिक १८ रनको योगदान दिए । सुमित आचार्यले २ चौका सहित १७ रन प्रहार गरे भने अनिस खानले १ छक्का र १ चौका त्यस्तै निम गुरुङले १ छक्काको मद्धतले क्रमश ११/१२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अँक समेत जोड्न सकेनन् ।

गोरखा मोडललाई सस्तैमा समेट्न सन्देश केसीले ३ विकेट हात पारे । केलाश शाह र केशब अधिकारीले समान २/२ विकेट लिए भने सन्तोष सुनार र सुरेश दर्लामीले समान १/१ विकेट लिन सफल भए । प्रतियोगितामा वडा नम्बर ७ का बिजय भुषाल सर्बाधिक रन बनाउदै म्यान अफ दि म्याच घोषित भए ।

यो जित सँगै लमही वडा नम्बर ७ सेमिफाईनलको यात्रामा छ । रनरेटको आधारमा वडा नम्बर ७ अब्बल मानिएको छ । जसले गर्दा कुनै एक प्रतियोगितामा हार ब्यहोरेपनि लिग सिस्टम अनुसार वडा नम्बर ७ ले चान्स पाउनेछ । बुधबार वडा नम्बर ७ र दँगाली स्पोर्ट्स क्रिकेट एकेडेमी घोराही बिच प्रतिष्प्रधा हुनेछ । यदी यो खेलमा वडा नम्बर ७ बिजयी भयो भने सोझै फाईनलको यात्रा गर्नेछ । तर दँगाली क्रिकेट बिजयी भएपनि उसले अझै अर्को टिमसँग सामना गर्नुपर्नेछ ।

मँगलबार दोस्रो खेलमा त्रिसिद्वेश्वरी क्रिकेट एकेडेमी तुलसीपुर र घोराही क्रिकेट क्लब मैदानमा छन ।

प्रतिक्रिया दिनुहोस्