विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्ने बाटो खुल्यो



काठमाडौं,वैशाख ३१। अन्तत: बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच समितिले विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्न सक्ने गरी बीमा कम्पनीहरूलाई बाटो खोलिदिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमामा केही लचिलो नीति ल्याइएको बताए । ‘पुनर्बीमासम्बन्धी यसअघिको निर्देशिका विवादमा परेपछि मेरै संयोजकत्वमा एक अध्ययन समिति बनेको थियो । सोही समितिको प्रतिवेदनपश्चात् केही लचिलो नीति ल्याएका छौं,’ उनले भने, ‘अब पनि बीमा कम्पनीहरूले स्वदेशी पुनर्बीमा कम्पनीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । तर, विदेशमा पनि पुनर्बीमा गर्न पाउने व्यवस्था गरिएको छ ।’

पहिला त पुनर्बीमा कम्पनीले सरकारले निर्धारण गरेबमोजिमको प्रत्यक्ष अंशबापतको व्यवसाय कुनै पनि हालतमा स्वीकार गर्नुपर्छ । पहिला स्वदेशी पुनर्बीमा कम्पनीले प्रत्यक्ष अंशअन्तर्गत जोखिम कम हुने व्यवसाय मात्र लिने गरेका थिए । त्यसपछि समितिले यस्तो निर्देशन जारी गरेको हो ।

यस्तै, बीमकले ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा प्रत्यक्ष अंशबाहेकमा प्रथम वर्ष कम्तीमा १५ प्रतिशत र दोस्रो वर्षदेखि कम्तीमा २० प्रतिशत पुनर्बीमा प्रत्येक पुनर्बीमकलाई दिनुपर्नेछ । त्यसबाहेकको पुनर्बीमा भने विदेशी कम्पनीमा पनि गर्न सकिने बताइएको छ ।

यद्यपि, यात्रा तथा स्वास्थ्य बीमाबाहेक मोटर बीमा, कृषिबीमा, लघु बीमा तथा विविध बीमालाई स्वदेशमा नै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन छ । त्यसअनुसार कम्पनीहरूले यात्रा तथा स्वास्थ्य बीमाको पुनर्बीमा विदेशी कम्पनीमा गर्न सक्नेछन् ।

यस्तै, फ्याकल्टेटिभ पुनर्बीमामा पहिला शतप्रतिशत नै स्वदेशी कम्पनीलाई दिनुपर्नेछ । स्वदेशी पुनर्बीमा कम्पनीले त्यो अस्वीकार गरेको खण्डमा विदेशी कम्पनीमा पुनर्बीमा गर्न सकिनेछ । विदेशी कम्पनीमा पुनर्बीमा गर्न परेमा एएम बेस्ट तथा बी रेटेट कम्पनीमा गर्नुपर्नेछ । तर, दक्षिण एशियाको पुनर्बीमा कम्पनी भएमा रेटिङको मापदण्ड लागू नहुने बताइएको छ ।

समितिले गत पुसमा एक निर्देशन जारी गर्दै बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा पुनर्बीमा गर्न निर्देशन दिएको थियो । त्यो निर्देशनअनुसार सबै प्रकारको बीमा र सबै प्रकारको पुनर्बीमा स्वदेशी कम्पनीमै गर्नुपर्ने हुन्थ्यो । समितिले अहिले आएर कुनै बीमाको स्वदेशमा र कुनै बीमाको विदेशी कम्पनीमा पुनर्बीमा गर्न सकिने गरी नयाँ नीति ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्