चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, केही स्थानमा अति भारी वर्षाको सम्भावना



काठमाडौं,कात्तिक ११ । चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेसँगै देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुन थालेको छ। मौसमविद्का अनुसार आगामी दुईदेखि तीन दिन देशका अधिकांश क्षेत्रमा वर्षा हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।

नेपाल मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात ‘अर्नब’ हाल भारतको आन्ध्र प्रदेश आसपासको समुद्री क्षेत्रमा रहेको छ। यो चक्रवात आज दिउँसोसम्म जमिनमा प्रवेश गर्ने सम्भावना छ।

चक्रवातको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली भइरहेको छ। बिहान लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भएको छ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

बिहीबारदेखि शनिबारसम्म सातवटै प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने मौसमविद् महर्जनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने मौसमविद् महर्जनले जानकारी दिइन्।

मौसम विज्ञान विभागले आइतबार बिहानसम्मका लागि वर्षासम्बन्धी चेतावनी जारी गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको विभागले जनाएको छ। मधेश प्रदेश, कोशी प्रदेशको पहाडी क्षेत्र, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।

आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले कृषि कार्य, पदयात्रा र पर्वतारोहणमा संलग्न व्यक्तिलाई विशेष सावधानी अपनाउन मौसमविद् महर्जनले आग्रह गरेकी छन्। उनले माथिल्लो क्षेत्रमा पदयात्राका लागि गइसकेका व्यक्तिलाई सुरक्षित स्थानमा फर्किन र आगामी दुई–तीन दिन कृषि तथा पर्वतारोहणका गतिविधि स्थगित गर्न अनुरोध गरेकी छन्।

उनले यात्रामा निस्कनुअघि मौसमको पछिल्लो अवस्था बुझ्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र मौसम विज्ञान विभागका आधिकारिक सूचना नियमित रूपमा हेर्नसमेत आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्