विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन



काठमाडौं,वैशाख ३१। विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन गरिएको छ । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीको समय सीमा थप गरेअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडले उक्त दुवै प्रणालीको कारोबारको समय परिवर्तन गरेको हो ।
शनिवार र आइतवार हुने सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी उक्त प्रणालीहरू शुक्रवार समेत पूर्णरूपमा सञ्चालन गरिने कम्पनीले बताएको छ । अहिले प्रचलनमा रहेका सत्रहरूको समय संशोधन तथा थप नयाँ सत्रहरूको व्यवस्था गरी मंगलवारदेखि लागू हुनेगरी प्रणाली समय सीमा परिवर्तन गरिएको कम्पनीले जानकारी दिएको छ ।

परिवर्तित समय सीमा अनुसार उक्त प्रणालीको नियमित सत्र दिउँसो ३ बजेसम्म र एक्सप्रेस सत्र दिउँसो ४ बजेसम्म रहने बताइएको छ । ४ बजेसम्म पेश भएका चेकहरू सोही दिन नै राफसाफ भई अन्तिम सेटलमेन्ट सवा ५ पछि हुने व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी चारओटा एक्सप्रेस क्लियरिङ सत्रहरू सञ्चालनमा रहने व्यवस्था गरिएको छ । त्यस्तै २० करोडदेखि ३० करोड रुपैयाँसम्मको चेक राफसाफका लागि हाई भ्यालू चेक क्लियरिङको सत्र पनि थप गरी दिउँसो ३ बजेसम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको छ ।

प्रणालीमा साँझ ५ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरू सोही दिन राफसाफ हुनेछन् । बिहान ९ देखि साँझ ५ बजेसम्म प्राप्त भुक्तानी आदेशहरू हरेक २–२ घण्टामै राफसाफ हुनेगरी छोटो अवधिका सत्रहरू पनि थप गरिएका छन् । हरेक दिन साढे ५ बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फन्डिङ सम्बन्धी भुक्तानी आदेश समेत सोही दिन फछ्र्योट हुने व्यवस्था गरिएको छ ।

तोकिएको समय सीमापश्चात् प्रणालीमा पेश भएका कारोबारहरू अर्को दिन राफसाफ हुने व्यवस्था यथावत् रहने बताइएको छ । जाडो महीना (कात्तिक १६ देखि माघ १५ गतेसम्म)मा आरटीजीएसको समय सीमासँग मिल्नेगरी सो प्रणालीको समय सीमा एक घण्टा कम हुने व्यवस्था गरिएको कम्पनीले बताएको छ । त्यसैगरी रिटेल पेमेन्ट स्वीचमार्फत हुने रियल टाइम भुक्तानीमा थप टेवा पुर्‍याउन बैंकहरूबीच हुने सेटलमेन्टलाई हरेक १ घण्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटकसम्म) गर्ने व्यवस्था गरिएको छ । ग्राहकको खातामा भने उक्त कारोबार रियल टाइममै हुने व्यवस्था यथावत् छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार वृद्धि गर्न लिएको नीति कार्यान्वयनमा उक्त कारोबार समय सीमा परिमार्जनले थप सहयोग पुग्ने, बैंक तथा वित्तीय संस्थाका ग्राहकले विद्युतीय भुक्तानी गर्न अझ सहज भई विद्युतीय कारोबारको कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्