आमरण अनसनको दशौं दिनमा तिलक कोइरालाले तोडे अनसन

काठमाडौं,असार ११ । पूँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले असार १ गतेदेखि सुरु गरेको आमरण अनसन तोडेका छन् । कोइरालाले १० औं दिनमा शुक्रवार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।आफूहरूले राखेको १९ बुँदे माग कार्यान्वयनका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्डले सहमति जनाएपछि कोइरालाले अनसन तोडेका हुन् ।
बोर्डले लगानीकर्ताहरूको मागका सम्बन्धमा काम गर्न कार्यान्वयन समिति नै गठन गरेको छ । उक्त समितिले आइतवारदेखि काम शुरु गर्ने बोर्डका अध्यक्ष हमालको प्रतिवद्धता छ । लगानीकर्ताहरूले उठाएका १९ बुँदाबाहेक आवश्यक बुँदाहरू समेत थप गरेर बजारको विकासका लागि हातेमालो गरेर अघि बढ्ने विश्वास समेत हमालले व्यक्त गरे ।
आम लगानीकर्ताहरूको हितका लागि ज्याननै जोखिममा राखेर १० दिनसम्म आमरण अनसनमा बसेका पूँजीबजार संघर्ष समितिका संयोजक कोइरालाले समयमै आफ्ना मागहरु सम्बोधनका लागि आग्रह गरे । आगामी दिनमा यस्ता आन्दोलनका कार्यक्रम गर्न नपर्ने गरी नियमक निकाय र बजार सम्बद्ध पक्षहरू जिम्मेवार बन्न समेत उनले अनुरोध गरे ।
लगानीकर्ताहरूले बजार सुधारका लागि उठाएका १९ बुँदे मागहरूः
१. अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पूँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समतिको ५८ बूँदे सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने ।
२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने ।
३. कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने ।
४. धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको छ । तथा थप १६ स्थान स्वीकृत दिने प्रकृया तत्काल अगाडि बढाइने।
५. गैरआवसीय नेपालीहरूलाई पूँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरूलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकोले आगामी २०७९ साउनदेखि कार्यान्वयनमा आउने ।
६. सार्वजनिक ओहदामा रहेका महानुभावहरूलाई पूँजी बजारको बारेमा सकारात्मक वा नकारात्मक अभिव्यक्ति नदिने सम्बन्धमा बोर्डले संचालन गर्ने वित्तीय साक्षरताको कार्यक्रममा उक्त विषयलाई विशेष जोड दिने र यस सम्बन्धमा बोर्डले समय समयमा विज्ञप्ति जारी गर्ने ।
७. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।
८. साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमई प्ल्याटफर्म संचालनका लागि नेप्सेले कार्यविधि तयार गरिसकेको र सोसम्बन्धी प्राविधिक व्यवस्था मिलाउने कार्य भैरहेकोले २०७९ भदौसम्म कार्यान्वयनमा ल्याउनका लागि पहल गर्ने ।
९. धितोपत्र बजारमा लिइने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुने क्रममा रहेकोले सोको प्रतिवेदन प्राप्त भएपश्चात सबै सरोकारवालाहरूको उचित राय–सुझाव लिई अन्तिम रूप दिने ।
१०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।
११. मागको बुँदा ११ को सम्बन्धमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयन पश्चात टिएमएस सञ्चालन गर्दा प्राविधिकरूपमा सम्भाव्य भएमा उक्त व्यवस्था समेट्ने सम्बन्धमा आवश्यक कार्य अगाडि बढाइने छ।
१२. मागको बुँदा १२ को सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग समन्वय गर्ने ।
१३. धितोपत्र बजारमा नयाँ औजार भित्र्याउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज लि.बाट अध्ययन भई कार्यान्वयनको चरणमा रहेकाले सोको लागि आवश्यक कार्य अगाडि बढाइने ।
१४. मागको बुँदा १४ सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बीमा समितिसँग आवश्यक समन्वय गर्ने ।
१५. मागको बुँदा १५ सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्ने ।
१६. मागको बुँदा १६ सम्बन्धमा आवश्यक अध्ययन गरी कार्य अगाडि बढाइने ।
१७. मर्जर तथा एक्विजिसन सम्बन्धमा रहेको अन्याेलता हटाउन नेपाल राष्ट्र बैंक, बीमा समिति र नेप्से सम्मलित समिति गठन भइसकेको र उक्त समितिबाट प्राप्त हुने प्रतिवेदन बमोजिम कार्य तत्काल कार्य अगाडि बढाइने।
१८. मागको बुँदा १८ को सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने ।
१९. मागको बुँदा नं. १९ को सम्बन्धमा पूँजी बजार र शेयर मूल्य को सम्बन्धमा पूँजी बजार र शेयर मूल्यलाई प्रभाव पार्नेसम्बन्धी नीतिनियम लागू गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी आवश्यक समय प्रदान गर्ने । आर्थिक अभियानबाट