गोरखाका विकट बस्तीमा अझै सडकको पहुँच छैन, नुन र खाद्यान्न ढुवानी महँगो



गोरखा,कात्तिक २०। गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा अझै सडक सञ्जाल पुग्न नसक्दा स्थानीयवासी महँगो ढुवानी खर्च तिर्न बाध्य छन् । सरकारले अनुदानमा उपलब्ध गराउने नुनसमेत सबै बस्तीमा पुग्न सकेको छैन ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाका अनुसार अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको छ । सरकारले जगतसम्म नुन पुर्‍याउन ढुवानी अनुदान दिए पनि त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्ने भएकाले स्थानीयले चर्को खच्चड ढुवानी भाडा तिर्नुपरेको छ ।

नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ । तर, मोटर पाङसिङसम्म मात्रै पुगेको छ । बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाए पनि बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याले निर्माणले गति लिन सकेको छैन । चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वडा अझै सडक पहुँचबाट टाढा छन् ।

सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिममै पनि खाद्यान्न महँगो छ । स्थानीय कुमारी गुरुङका अनुसार प्रतिप्याकेट ३० रुपैयाँ पर्ने आयोनुन फिलिममा ६० रुपैयाँमा बिक्री हुने गरेको छ । आर्खेटबाट फिलिमसम्म खाद्यान्न ल्याउँदा ढुवानी खर्च बढ्ने भएकाले मूल्य महँगो हुने गरेको उहाँको भनाइ छ ।

पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो । मनास्लु क्षेत्रका अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खाद्यान्न पुर्‍याउँदा प्रतिकिलो एक सय रुपैयाँ ढुवानी भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामाले बताउनुभयो । तीन दिनको पैदलयात्रापछि गाउँमा पुग्ने खाद्यान्नको ढुवानी खर्च नै प्रतिकिलो एक सय रुपैयाँ पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्