जनकपुर–अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र
जनकपुरधाम,कात्तिक २० । जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन गर्ने तयारी गरिएको रेलसेवाको बिहीबार परीक्षण गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसहित भारतको अयोध्यादेखि धनुषाको कुर्थासम्म १७ बोगीसहितको रेल परीक्षण गरिएको नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।
भारतीय ६७ जना प्राविधिकको टोलीले रेलमार्ग, ट्र्याक र गति परीक्षण गरेको हो । परीक्षणका क्रममा रेल प्रतिघण्टा ३० किलोमिटरको गतिमा सञ्चालन गरिएको थियो ।
पहिलो चरणमा साताको एक दिन रेल सञ्चालन गर्ने तयारी छ । रेलमा सामान्य, वातानुकूलित र शयनयान बोगी रहनेछन् । सञ्चालन मिति र भाडादर भने तय भइसकेको छैन ।
जनकपुरधाम र अयोध्यालाई रेलमार्फत जोड्दा धार्मिक पर्यटन, व्यापार तथा दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

