सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी



काठमाडौं,कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये पाँच वटा सामूहिक र आठ वटा व्यक्ति किटान गरी दर्ता गरिएका उजुरी हुन् ।

समितिले बिहीबार उजुरी तथा प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना सदस्यहरूलाई वितरण गर्दै सुनुवाइको कार्यतालिका अनुमोदन गरेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार शुक्रबार र शनिबार उजुरीकर्ता तथा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुनेछ ।

प्रस्तावित न्यायाधीश जनक पाण्डेविरुद्ध पाँच, गोकर्ण डाँगीविरुद्ध दुई र चन्द्रबहादुर सारूविरुद्ध एक वटा व्यक्तिगत उजुरी परेको छ । रत्नबहादुर बागचन्दविरुद्ध भने व्यक्तिगत रूपमा उजुरी परेको छैन । उनीसहित चारै जना न्यायाधीशविरुद्ध पाँच वटा सामूहिक उजुरी दर्ता भएका छन् ।

पाण्डेविरुद्ध व्यक्तिगत विषय, विभिन्न फैसलामा विचलन देखिएको आरोप, वातावरणीय मुद्दामा गरेको आदेश तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको थुनछेक आदेशलाई लिएर उजुरी परेको छ । उनकी श्रीमतीविरुद्ध सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको विषय पनि उजुरीमा उल्लेख छ ।

त्यस्तै, डाँगीविरुद्ध सरकारी विद्यालयको जग्गा हडपेको, तुलसीपुर नगर विकास कार्यक्रमको जग्गा लिएको तथा दलीय भागबन्डाका आधारमा उच्च अदालतमा नियुक्त भएको आरोप लगाइएको छ ।

सारूविरुद्ध कार्यक्षमता र न्यायिक निष्पक्षतामाथि प्रश्न उठाइएको छ । जबरजस्ती करणीसम्बन्धी गम्भीर मुद्दामा प्रमाणको उचित मूल्याङ्कन नगरी जिल्ला अदालतको फैसला उल्ट्याएको आरोपसमेत उजुरीमा उल्लेख छ ।

समितिको कार्यतालिकाअनुसार शुक्रबार बिहान उजुरीकर्तासँग छलफल हुनेछ । शुक्रबार दिउँसो प्रस्तावित न्यायाधीश बागचन्द र सारूको सुनुवाइ हुनेछ भने शनिबार पाण्डे र डाँगीको सुनुवाइ तथा निर्णय प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्