पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं,असार १२। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार निगमले तीनथरी इन्धनको मूल्य घटाएको हो । शनिवार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा २० र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए ।

योसँगै १९९ पर्ने पेट्रोल अब १७९ रुपैयाँमा र १९२ पर्ने डिजेल तथा मट्टितेल १६३ रुपैयाँमा पाइनेछ । नयाँ मूल्य शनिवार राति १२ बजेदेखि लागू भएको छ ।

मन्त्री बडूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले जनतालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुने गरी मूल्य घटाइएको बताए । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भनेर मूल्य घटाएको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक भएको थियो । उक्त बैठकमा सम्बद्ध मन्त्रालयका सचिव र नेपाल आयल निगमका उच्च अधिकारीको पनि उपस्थिति थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएबमोजिम मूल्य घटाइएको मन्त्री बडूले जानकारी दिए ।

सरकारी कार्यालयमा विद्युतीय सवारी
पेट्रोलियम पदार्थ खपत कम गर्न विद्युतीय चूल्हो र विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिने मन्त्री बडूले जानकारी दिए । सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, पुरानालाई विद्युतीयमा रूपान्तरण गर्ने तथा ठूला सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीतिगत निर्णय गरिनेछ । पेट्रोलियम पदार्थको खपत कम गर्न अन्य मुलुकको असल अभ्यासलाई पनि अध्ययन गरेर विज्ञसँगको परामर्शपछि निर्णय लिने र हालको निगमको व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन पनि कार्यदलले सुझाव दिएपछि कार्यान्वयनमा लगिने मन्त्री बडूले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्