सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर



काठमाडौँ,असार १४ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत गरेका छन् ।

मन्त्रालयमा सोमवार पदबहालीपछि पहिलो निर्णयका रूपमा उनले आर्थिक वर्ष २०७९/८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेको प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । अछाम चौरपाटी गाउँपालिका–४  (साविक पायल गाविस–५) मा २०२३ साल भदौ ६ गते जन्मेका नवनियुक्त श्रममन्त्री कुँवर नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य, संगठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् ।

उनी यसअघि राष्ट्रियसभाको सदस्यका रूपमा संसद्मा क्रियाशील थिए । उनको चारवर्षे कार्यकाल गत फागुनमा सकिएको थियो । त्यसअघि उनी एकीकृत समाजवादीको राष्ट्रियसभातर्फका प्रमुख सचेतकसमेत थिए । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्