नेपाल उडान गर्दै थप २ ओटा अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी

काठमाडौं,असार १७ । थप दुई ओटा अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीले नेपालमा नियमित उडान गर्ने भएका छन् ।
थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ र श्रीलंकाको श्रीलंकन एयरलाइन्सले आगामी असार २२ गतेदेखि उडान गर्ने तयारी गरेका हुन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार थाई स्माइलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल TIA बाट पहिलो पटक नियमित उडान शुरु गर्न लागेको हो भने श्रीलंकन एयरलाइन्सले कोभिड–१९ महामारीका समयमा स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रवारदेखि काठमाडौं–बैंकक सिधा उडान शुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान गर्ने अनुमति पाएको प्राधिकरणले बताएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक विक्रेता जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ ।
थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान शुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।
श्रीलंकन एयरलाइन्सले उडान थप्यो
श्रीलंकन एयरलाइन्सले सातै ओटा नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जीएसए जेनिथ ट्राभल्सले बताएको छ । यसअघि हप्ताको चार उडान गर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो ।
एयरलाइन्सले हाल आइतवार, सोमवार, मंगलवार र बिहीवार गरी नियमित चार ओटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात ओटा उडान गर्ने अनुमति पाएको हो । कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।
प्राधिकरणका अनुसार हाल TIA भएर दुई नेपालीसहित २४ ओटा एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । तीमध्ये नेपालसहित १९ देशका २४ ओटा एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तरराष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० ओटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । आर्थिक अभियानबाट