संयुक्त रूपमा दूरसञ्चार पूर्वाधार कम्पनी खोल्न प्राधिकरणलाई प्रस्ताव

काठमाडौं,असार १९ । नेपाल टेलिकमले दूरसञ्चार पूर्वाधार बनाउने सहायक कम्पनी संयुक्तरूपमा स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणलाई प्रस्ताव गरेको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टेलिकमबाट प्राधिकरणलाई यस्तो प्रस्ताव आएको बताएका हुन् ।
‘टेलिकमले दुई कम्पनीको संयुक्त लगानीमा नयाँ सहायक कम्पनी खडा गरी पूर्वाधार निर्माण गर्ने प्रस्ताव गरेको छ,’ उनले भने । टेलिकमको प्रस्तावमा प्राधिकरण सकारात्मक रहेको उनले बताए । नेपालमा दूरसञ्चार पूर्वाधार निर्माणमा दोहोरो लगानी भएको र यसको समाधानका लागि पूर्वाधार सहप्रयोग गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेको थियो ।
टेलिकमको प्रस्तावबारे बोर्डमा छलफल समेत भएको कार्यकारी निर्देशक घिसिङले बताए । हाल दूरसञ्चारका लागि आवश्यक पर्ने धेरैजसो ठूला पूर्वाधार विद्युत् प्राधिकरण र टेलिकमसँग मात्र छन् ।