देशभर एकैसाथ बजार अनुगमन शुरु, ७१ ओटा कम्पनीलाई कारबाही



काठमाडौं,असार १८ । सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन शुरु गरेको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शुक्रवार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत एकैसाथ बजार अनुगमन गरिएको जानकारी दिएको छ ।

अनुगमनका क्रममा मुलुकभरका विभिन्न स्थानमा ७१ ओटा कम्पनीलाई कारबाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । उनले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशबाट नै सामानको मूल्य वृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर रहेको पाइएको बताए । महानिर्देशक शर्माले पेट्रोलियम पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि भएकाले अन्य वस्तुको पनि मूल्य वृद्धि भएको बताए ।

विभागले २५ ओटा फर्मको अनुगमनका क्रममा नौ ओटालाई कारबाही गरेको छ । यस्तै, प्रदेश नम्बर–१ मा २० फर्ममा अनुगमन गरिएको छ । मधेश प्रदेशमा गरिएको १३ फर्मको अनुगमनका क्रममा ११ओटा फर्मलाई कारबाही गरिएको विभागले बताएको छ । अरू स्थानमा पनि प्रभावकारी रूपमा अनुगमन गरिएको शर्माले बताए ।

यस्तै, बजारमा चिनीको भाउ महँगिएको विषयमा पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उनले बताए । विभागले ७७ ओटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई निरन्तरता दिइने पनि बताएको छ ।

 विषम परिस्थितिको बहाना बनाई कोही कसैले आधारहीन तरिकाले वस्तु वा सेवाको उद्योग (उत्पादन) मूल्य, होलसेल मूल्य, खुद्रा मूल्य कायम गर्ने तथा मौज्दात लुकाउने जस्ता कार्य नगर्न नगराउन पनि विभागले भनेको छ ।  साथै विभागले अनुगमनको क्रममा त्यस्तो गरिएको पाइए हदै सम्मको कारबाही गरिने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्