अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको आईपीओ निष्कासन, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं,असार २०। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २० गते)देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । आईपीओमा आवेदन दिने समय असार २३ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन २ गतेसम्म समय थप गरिने बताइएको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
यो कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ६, ७ र ११ मा सोलुखोलाको पानीबाट २३ दशमलव ५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् २०७८ फागुन ७ गतेदेखि सोलु करिडोर १३२ केभी प्रसारण लाइनमार्फत पूर्ण रूपमा विक्री भइरहेको छ । यो आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत रू. २१ करोड २७ लाख रहेको छ ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी–आइआर डबलबी प्लस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्म ८ करोड ३६ लाख ३५ हजार खुद संचित नाफा गरेको छ ।
उक्त अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ २१ पैसा रहेको छ । कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि १०८ रुपैयाँ २१ पैसादेखि ३२४ रुपैयाँ ६३ पैसा मूल्यरेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको ३ गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ ।