गोगो रोबोट बनाएका लव–कुशको नयाँ आविष्कार : मान्छेविना नै चिया बेच्ने मेशिन
काठमाडौं,असार २३ । गुल्मीका लव र कुश पन्थीले सफ्टवेयरमार्फत मानिसको उपस्थितिविना चिया विक्री गर्न मिल्ने मेशिन (टी–स्क्यान) बनाएका छन् । नेपालकै पहिलो नेपाली भाषा बोल्ने ‘गोगो’ रोबोट र कोरोनाको समयमा आइसोलेसन वार्डमा प्रयोगमा ल्याउन सकिने नर्स रोबोट ‘गो कोरोना’ रोबोट बनाएका यी जुम्ल्याहा दाजुभाइले पछिल्लो समय उक्त मेशिन बनाएका हुन् ।
बुटवल बस्दै आएका १८ वर्षीय उनीहरूले ६ महीना समय लगाएर सो मेशिन बनाएको बताएका छन् । उनीहरूका अनुसार सो मेशिनको माथिल्लो भागमा क्यूआर कोड राखिएको छ । ग्राहकले सो कोड स्क्यान गरी ई–सेवा वालेट तथा मोबाइल बैंकिङ एपमार्फत रकम तिरेपछि मेशिनको चिया कपमा झर्ने बताइएको छ ।
चियाको मूल्य बराबरको रकम खातामा गएपछि मात्र चिया झर्ने र कप भरिएपछि स्वतः बन्द हुने लवले बताए । एकपटक पकाएको चिया ६ देखि ७ घन्टासम्म एउटै तापक्रममा रहने उनको दाबी छ ।
क्यूआर कोड स्क्यान गरेर चिया विक्री गर्न मिल्ने सफ्टवेयर नेपालमा मात्र नभई विश्वमै पहिलो भएको यी दाजुभाइको दाबी छ । यसबाट चिया मात्र नभई जुस, दूध, पानी लगायत पेयपदार्थ बेच्न सकिने उनीहरू बताउँछन् ।
काठमाडौंका विभिन्न स्थानमा थर्मसमा चिया बेच्ने गरिएकाले त्यसलाई सहज बनाउन आफूहरूले चिया मेशिन बनाएको उनीहरूले बताए । ‘क्यूआर कोड पेमेन्ट सिस्टममा ई–सेवाले सहकार्य गरेको छ,’ लवले भने, ‘यो सफ्टवेयरको व्यावसायिक प्रयोग हुन सके अस्पताल लगायत सार्वजनिक स्थानमा चिया पसल वा थर्मसमा बोकेर चिया बेच्ने झन्झट अन्त्य हुनेछ ।’
सफ्टवेयर सहित ५ लिटरको उक्त मेशिनको मूल्य २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका उनीहरूले बनाएको ‘गो कोरोना’ रोबोट उनीहरूले प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका थिए । रोबोटमार्फत नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने आफूहरूको उद्देश्य रहेको, तर यसका लागि सरकारी निकायबाट आर्थिक सहयोग पाउन नसकिएको उनीहरूको गुनासो छ । आर्थिक अभियानबाट