विद्युतको पोल सार्ने क्रममा खसेर ११ वर्षीय बालकको मृत्यु



जाजरकोट,कात्तिक २० । जाजरकोटको शिवालय गाउँपालिकामा विद्युतको पोल सार्ने क्रममा खसेर लाग्दा ११ वर्षीय बालकको मृत्यु भएको छ ।

शिवालय गाउँपालिका–५ चाप्ट निवासी खडकबहादुर शाहीका छोरा शिशिर शाहीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बद्धीसागर पुरीका अनुसार घरदेखि करिब १०० मिटर उत्तरतर्फ आफ्नै कोदोबारीमा रहेको खाली विद्युत् पोल एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा पोल चिप्लिएर खसेको थियो । सर्वसाधारणले बोकेको पोल खस्दा बालकको टाउको र छातीमा चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कात्तिक १९ गते घटनाबारे सर्वसाधारणले प्रहरीलाई जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट थालारैकरबाट प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद शर्माको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको डिएसपी पुरीले बताउनुभयो ।

मृतक शाहीको जाजरकोट अस्पतालमा शव परीक्षण गरी परिवारले अन्तिम संस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्