युवाहरुले गरे नमुना गाउँसभाको अभ्यास



सल्यान,असार २३ । सल्यानको कपुरकोट गाउँपालिकाका १६ देखि २४ वर्ष सम्मका युवाहरुले नमुना युवा गाउँ सभाको अभ्यास गरेका छन् । बुधबार कपुरकोट गाउँपालिकाको सभाहलमा सम्पन्न नमुना गाउँसभामा नीति कार्यक्रम, बजेट तथा कार्यविधि पेश गर्ने, छलफल गर्ने र पारित गर्ने लगायतका विषयमा युवाहरुले अभ्यास गरेका हुन् ।

नमुना युवा गाउँसभा अभ्यासका लागि कपुरकोट गाउँपालिकाका ६ वटै वडाबाट छनौट भएर आएका युवाहरुलाई गत आइतबार देखि तालिम प्रदान गरिएको थियो । नमुना गाउँसभा अभ्यासमा गाउँसभाका सदस्यहरुको निर्वाचन विधिबाट हुने छनौट, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरुले खेल्ने भूमिका, नीति तथा कार्यक्रम प्रस्तुति, बजेट प्रस्तुति, योजनाहरु संकलन, छनौट, वडा समितिमा छलफल तथा पालिकामा पेश गर्ने, बजेटमाथिको दफादार छलफल, विषयगत समितिहरुबीच छलफल, बजेट पारित लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको प्रमुख प्रशिक्षक सुरेश कुमार रावतले जानकारि दिनुभयो ।

नमुना युवा गाउँसभामा गाउँसभाका अध्यक्ष खड्ग थापाले युवा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । यस्तै गाउँसभा उपाध्यक्ष भुमिका बुढाथोकीले बजेट वक्तव्य र गाउँसभा सदस्य धन कुमारी वस्नेतले स्थानीय युवा परिषद गठन सम्बन्धी कार्यविधि पेश गर्नुभएको थियो । नीति, कार्यक्रम, बजेट र कार्यविधिमाथिको छलफलमा गाउँसभाका सदस्यहरुले आवश्यक सुझाव प्रस्तुत गर्दै सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

नमुना अभ्यास पछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले यो अभ्यास गाउँपालिकाका युवाहरूका लागि निकै प्रभावकारी र सकारात्मक रहेको बताउनुभयो । यस्तो खालको अभ्यासले युवाहरूमा राजनीतिक अभ्याससँगै नेतृत्व क्षमताको विकास हुने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्