नुवाकोट भद्रुटारमा २२ रोपनी खेतमा ६ हल गोरु, २८ रोपार, दलबहादुरको गीतमा हासोको फोहोरा
नुवाकोट,असार २५ । सिमसिम वर्षात भैरहेको थियो । पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ५ भद्रुटारमा स्थानीय बिष्णु गिरीको खेतमा बेलैमा ७ हल गोरी नारिएका थिए । त्यतिकैमा पञ्चे बाजाको सुमधुर धुन बज्न थाले । २२ रोपनी खेतमा बाजाको धुनसंगै ९ जना लाठे र २८ रोपार रोपाइँमा होमिए ।
व्यवसायीक प्रयोजनले राजधानी बस्दै आएका बिष्णु गिरीसंगै स्थानीय हिलो छ्यापाछ्यापमा उत्रिहाले । हिलोको प्रवाह नगरी दलबहादुरको टीम रोपाइँ गरेकै स्थानमा असारे गीतमा छेडछाड गर्न लागिहाले भने दर्शकका रुपमा उपस्थित भएका सयौं युवायुवती, प्रौढको हासोको फोहोरा छुटिहाल्यो।
पछिल्लो समय लाठे,रोपारको महँगो पारिश्रमिक वितरणका कुरा आएपनि कोही रमाइलोको लागि समेत खेतालाका रुपमा उपस्थित थिए । लामो समयदेखि साङ्गितिक हिसाबले नुवाकोट नआएका दलबहादुरको शुभचिन्तक प्रसस्त देखिए ।
त्यसो त दलबहादुर अहिले ७३ वर्षका भए । नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङका दलबहादुर साङ्गितिक गायनमा युवा सरह प्रस्तुत हुन्छन् । प्रेमिल शब्द बिना गीत टेसिलो नबन्ने मान्यता राख्ने दलबहादुर हाल काठमाडौंको बोहराटारमा गाई पालन गरेर बसेका छन् । पछिल्लो समय युवा जमात माझमा चर्चा कमाएका डङ्गोल मिडियामा मार्फत हाल चर्चा बटुल्दै आएका छन् ।
शुक्रबार दलबहादुर युवा जोशका साथ भद्रुटार पुगेका थिए । हिलो, पञ्चेबाजा र घाँसे दोहोरी बीच स्थानीयले भरपुर मनोरञ्जन लिएको स्थानीय ज्ञानेन्द्र गिरीले बताए । यस्ता कार्यक्रमले खेतीपातीबाट विस्थापित नागरिक खेतमा पुनः फर्किन केहि हदसम्म सहयोग पुग्ने उनको ठम्याइ रहेको छ ।
भिडियो हेर्नुस्
भिडियो हेर्नुस्