महिला उद्यमशीलता विकासका लागि तालीम शुरू



काठमाडौं,असार २६ । महिला उद्यमशीलता विकासका लागि नेपाल चेम्बर अफ कमर्शको आयोजनामा तालीम कार्यक्रम शुरू गरिएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम शुरू गरेको हो । उद्यमशीलता विकास र रोजगारी सृजनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रसँग सम्बन्धित तालीम आयोजना गरेको हो । पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, फेब्रिक पेन्टिङ लगायत विधामा तालीम प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

तालीम कार्यक्रम उद्घाटन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्शले महिलाको सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

चेम्बरकी उपाध्यक्ष एवं महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालीम सञ्चालन गरिएको बताइन् । व्यापार र रोजगारी सृजना गर्न तालीम महत्त्वपूर्ण हुने श्रेष्ठको भनाइ थियो । महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलालाई कम्तीमा १५ दिनको तालीम दिइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्