नुवाकोट चापको बोटमा पहिचाननै गुम्ने डरले चापको विरुवा रोपियो
नुवाकोट,असार २६ । पहिचाननै गुम्ने खतराले नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ६ चापाको बोटमा चापको विरुवा रोपिएको छ । स्थानीय शिक्षक अर्जुन तामाङले जिल्लास्थित बागबानी केन्द्र त्रिशुलीबाट खरिद गरि उक्त स्थानलाई चापाको बोट नामनै जीवन्त राख्न पुनः बिरुवा लगाएको बताए ।
शिक्षक तामाङले आफ्नो बुवा रणसिंह तामाङको अनुरोध स्विकार्दै विरुवा खरिद गरि ल्याएको बताए । झण्डै डेढ वर्ष अगाडि चापको बोट सुक्दै गई मरेपछि पछिल्लो समय कतिपयले किन चापको बोट राखियो जस्ता प्रश्न समेत गर्ने गरेको बुबा रणसिंहले बताए ।
कुनै समय चापाको बोट हुँदै जिल्लाको उत्तरी क्षेत्रका मानिस काठमाडौं ओहोरदोहोर गर्ने गरेको इतिहास रहदै आएको स्थानीय वयोवृद्धहरु बताउँछन् । चापको सितल छहारीमा भारी बिसाई काठमाडौं आवतजावतको केन्द्र सम्म रहदै आएको छ । दिनभर बसी साँझ अबेरसम्म नाचगान गर्ने गरेको इतिहास रहेको उनीहरु बताउँछन् । पूर्खाले सिर्जिएको स्थान तथा नामलाई सार्थक तुल्याउने समेत शिक्षक तामाङको इच्छा रहेको छ ।