राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीको राजीनामा



अल्मुताइरीको राजीनामा : नेपाली फुटबलले के पायो के गुमायो ?

काठमाडौं,भदौ २७। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

अल्मुताइरीले आईतवार सामाजिक सञ्जाल फेसबुकबाट नेपाली राष्ट्रिय फुटबल टिमसँगको यात्रा टुंगिएको घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले महासचिवलाई राजीनामा पठाएको जानकारी दिए  ।उनले  राजीनामामा एन्फासँग भएको सम्झौता भंग गरेको उल्लेख गरेको शाहले जानकारी दिएका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो सामाजिक सञ्जालमा नेपाली टिमसँगको आफ्नो ५२५ दिनको यात्रा टुंगिएको उल्लेख गर्दै स्टाटस लेखेका छन् । 
‘नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु, खुशी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद छ,’उनले  सामाजिक सञ्जालमा लेखेका छन्।

एन्फाले वि.सं ०७७ साल चैत २२ गते कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । अल्मुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो भने गत असोजमा माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट वञ्चित बनेको थियो । अल्मुताइरीको नेतृत्वमा नेपालले एएफसी एशियन कप छनोटको दोस्रो चरण खेलेको थियो । 

अलमुताईरी आफ्नो कार्यकालमा पटक फटक विवादमा परेका  थिए । अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अल्मुताइरी विवादमा तानिएका थिए । अल्मुताइरीको प्रशिक्षणमा नेपालले १९ अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये पाँच खेलमा जित निकालेको नेपालले दुई खेलमा बराबर र १२ खेलमा हार व्यहोरेको छ । 

प्रतिक्रिया दिनुहोस्