चितवन गोल्डकप : मनाङलाई हराउँदै एपिएफ फाइनलमा



चितवन,भदौ ३१ । सशस्त्र प्रहरी बल (एपिएफ) एफसी नारायणगढको क्याम्पा चौरमा जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ एफसीलाई हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले मनाङअलाई १-० ले पराजित गर्‍यो ।

एपिएफलाई जिताउन हरि कार्कीले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको १० औं मिनेटमा हरिले गोल गरे । उक्त गोल नै एपिएफलाई जिताउन पर्याप्त भयो । एक गोलले पछि परेको मनाङले अन्त्य तिर केही आक्रमक खेल प्रस्तुत गरे पनि हार टार्न सकेन ।

खेलमा थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा मनाङ १० खेलाडीमा सीमित भयो । बिपक्षीका खेलाडीलाई फल गरेपछि रेफ्रीले मनाङका मिडफिल्डर पूजन उपरकोटीलाई रातो कार्ड दिए । एपिएफका सनिश श्रेष्ठ म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । एपिएफले अब उपाधिका लागि शनिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा शुक्रबार त्रिभुवन आर्मी फुटबल क्लब र एभिनर एफसी क्यामरुन भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप असोज ३ गतेसम्म चल्नेछ । गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्