चितवन गोल्डकपको उपाधि आर्मीले जित्यो



चितवन,असोज ३ । त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पा चौरमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीको जितमा सुदील राई नायक बने । दुबै गोल उनले नै गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरे । ६१ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको फ्री किकमा आर्मीका गोलरक्षक विश्वास चौधरी बाधक बने । खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । उनी खेलको म्यान अफ दि म्याच भए ।

उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । विजेता आर्मीले सात लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित एपिएफले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भए । केबिए ग्लोबल भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने । उनले गोल्डकपभर सात गोल गरेका थिए ।

यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए । उनीहरुले जनही नगद २०-२० हजार रुपैयाँ प्राप्त गरे । भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा दुई ए डिभिजन र दुई विदेशी गरी १० टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्