भयावह बन्दै डेंगी संक्रमण : देशभर २७ हजार ५६९ जना संक्रमित, ३६ जनाको मृत्यु



काठमाडौं,असोज १३ । नेपालमा डेंगी संक्रमण भयावह बन्दै गएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउनयता देशभर २७ हजार ५६९ जनामा डेंगी संक्रमण भएको छ भने यसको संक्रमणबाट ३६ जनाकाे मृत्यु भइसकेकाे छ । गत मंगलवार मात्रै नेपालमा डेंगी संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।   

मन्त्रालयका अनुसार मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको छ । तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगी पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ । 

मन्त्रालयका अनुसार डेंगीबाट सबैभन्दा बढी प्रभावित काठमाडाैं उपत्यका छ । उपत्यकाका अस्पतालहरू बिरामीले भरिएका छन् । 

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगीकाे संक्रमण देखिएकाे थियाे । त्यसयता हरेक वर्ष डेंगीको संक्रमण देखिँदै आएको मन्त्रालयले जनाएको छ ।

कसरी बच्ने ?

डेंगीकाे संक्रमण हुन नदिन चिकित्सकले केही उपाय सुझाएका छन् । 

  • लामखुट्टेको टोकाइबाट जोखिनु नै डेंगीबाट बच्ने सबैभन्दा भरपर्दो र उपयुक्त उपाय हो । यसबाहेक लामखुट्टेको टोकाइबाट जोगिने केही मलमसमेत उपलब्ध छन् ।
  • शरीर ढाक्नेगरी कपडा लगाउने ।
  • घरमा रहदा र घरबाहिर घुम्दा पनि बालबालिकालाई लामखुट्टेबाट जोगाउने । जसका लागि झ्याल ढोकामा आवश्यक मात्रामा जाली र झुलको प्रयोग गर्ने ।
  • हप्ताको एक पटक घर र आसपासको सरसफाइ गर्ने । खल्डोमा जमेको पानी हटाउने, टायर, भाडावर्तन, पौडी पोखरी, जस्ता पानी जम्ने सामान हटाउने ।
  • यदि परिवारमा कसैलाई डेंगी संक्रमण भए पहिलाे एक साता लामखुट्टेको टोकाइबाट बच्ने । किनकी संक्रमितलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेमा संक्रमण सर्न सक्छ ।   

प्रतिक्रिया दिनुहोस्