दशैंमा टिकटको सकस : यात्रुहरू रातभर लाइन बस्छन्, टिकट पाउँदैनन्



काठमाडौं,असोज १५ । दशैंमा घर जानका लागि टिकट लिन कैलालीको घोडाघोडी नगरपालिका–१०, का गोविन्द बडुवाल आफ्ना दाजुसहित शुक्रवार (दशैंको पाँचौं दिन) बिहानै काठमाडौं, गोंगबुस्थित नयाँ बसपार्क पुगे । परिवारका ६ जनाको टिकट काट्न शुक्रवार बिहान ३ बजे नै बसपार्क पुगेका उनीहरू टिकट काउन्टरको लाइनमा बसे । तर, टिकट पाएनन् । 

‘टिकटका लागि दाजुभाई धनगढी र नेपालगन्जको टिकट काट्ने लाइनमा बस्यौं । तर, काउन्टरका कर्मचारीले ‘टिकट छैन’ भन्दै फर्काए,’ हाल कीर्तिपुरमा डेरा गरी बस्दै आएका उनले भने । 

काउन्टरका कर्मचारीले ‘टिकट छैन’ भने पनि टिकट पाइने आशामा बसपार्कमै ६ घण्टा बिताए उनीहरूले । अन्ततः टिकटबिनै बिहान ९ बजे डेरा फर्किए उनीहरू । घर जानका लागि टिकट नपाएपछि यस वर्षको दशैं घरमा मनाउन नपाइने हो कि भन्ने उनीहरूमा चिन्ता छ । 

बडुवाल दाजुभाइको जस्तै सास्ती भोगे, कीर्तिपुरमा आफन्तकहाँ बस्दै आएका बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का धनप्रसाद जोशीले पनि । धनगढीको टिकट लिन गत बुधवार (दशैंको तेस्रो दिन) बिहानै नयाँ बसपार्क पुगेका उनी पनि टिकटबिनै फर्किएका थिए । घर फर्किन धनगढीको टिकट काट्ने काउन्टरमा पुगेका उनलाई पनि कर्मचारीले ‘टिकट छैन’ भन्दै फर्काएका थिए । तैपनि टिकट पाउने आशामा उनी दिनभर बसपार्कमै भौतारिएका थिए । 

यी त प्रतिनिधि उदाहरण मात्र हुन्, दशैंमा घर जानका लागि टिकट लिन बसपार्क पुगेका यात्रुहरू यस्तै सास्ती भोग्न बाध्य छन् । उनीहरू टिकटका लागि राति नै बसपार्क त पुग्छन् । तर, टिकट पाउँदैनन् । 

सुदूरपश्चिम बस व्यवसायी समितिको नयाँ बसपार्क इन्चार्ज मीन पनेरू टिकट लिनका लागि यात्रुहरू राति १० बजेदेखि नै बसपार्कमा आउने गरेको बताउँछन् । ‘केही दिनदेखि टिकट लिन आउनेको चाप थेगिनसक्नुको छ,’ उनले भने । 

तर, यात्रु व्यवस्थापनमा न यातायात व्यवसायीले चासो दिएका छन् न त सरकारी निकायले नै । 

‘दशैंमा घर जाने यात्रुको व्यवस्थापनमा सरोकारवाला जिम्मेवारबोध भएनन् । यसले गर्दा बसपार्क पुगेका यात्रुहरूले टिकट पाउन सकेका छैनन्,’ जोशीले दुखेसो पोखे । सरकारले दशैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाए पनि यसको व्यवस्थापन राम्रो नहुँदा सास्ती भोग्नुपरेको यात्रुको दुखेसो छ ।

नेपाली उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष दिल साउद पनि दशैंमा घर जाने यात्रुको व्यवस्थापनमा सरोकारवाला निकायले चासो नदेखाएको आरोप लगाउँछन् । ‘यसबारे सरकारी निकायले किन चासो देखाएको छैन ?’ उनी प्रश्न गर्छन् । 

गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता फणिन्द्रमणी पोखरेल दशैंको यात्रा सहज बनाउन मन्त्रालयले आफ्नो भूमिका निर्वाह गरिरहेको बताउँछन् । हुटमा यात्रु राखेको, सिट क्षमताभन्दा बढी यात्रु राखेकोलगायत विषयमा अनुगमन गरिरहेको उनको भनाइ छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम बिग्रिएको सडकका कारण पर्याप्त गाडी आउन नसक्दा यात्रु व्यवस्थापनमा कठिनाइ भइरहेको बताउँछन् । ‘तैपनि हामी यात्रु व्यवस्थापनका लागि सक्दो पहल गरिरहेका छौं,’ उनले भने । 

महासंघका महासचिव गौतम अबको दुई–तीन दिनमा यात्रु व्यवस्थापनको समस्या समाधान हुने दाबी गर्छन् । ‘वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा बस अड्किएका थिए । ती गाडी नआउँदा यात्रु व्यवस्थापनमा समस्या भएको हो,’ उनी भन्छन्, ‘अब यो समस्या समाधान हुन्छ ।’  

प्रतिक्रिया दिनुहोस्