विश्व आर्थिक मन्दीः अमेजनले गुमायो १० खर्ब डलरको पूँजिकरण, अमेरिकी शेयर बजारमा ४० खर्ब डलर स्वाहा !



काठमाडौं,कात्तिक २७ । विश्वब्यापी आर्थिक मन्दीको प्रभाव संसारका ठूला ‘टेक–जायन्ट’ कम्पनीहरुको पर्न थालेको छ । यी कम्पनीको सेयर उच्च दरले सस्तिन थालेका छन् । संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजन यसमा सबैभन्दा अगाडी देखिएको छ ।

अमेजनको सेयरले करीब डेढ वर्षको अवधिमा आधाभन्दा बढी अर्थात् १० खर्ब डलर पूँजीकरण गुमाएको छ । नेपाली सेयर बजारले ३२ सय अंकको कीर्तिमानी स्तर पार गर्नुभन्दा करीव एक महिनाअघि अमेजनको बजार पूँजिकरण १८ खर्ब ८० अर्ब डलर पुगेको थियो । जुन गत साता ८ खर्ब ७९ अर्बमा झरेको छ ।

२०७८ भदौ २ गते बुधबार नेप्से करीब ३९ अंक बढेर ३१९९.०३ अंकमा बन्द भएको थियो । त्यस दिन नेप्सेका २१ अर्ब ३१ करोड ३५ लाखको सेयर ब्यापार भएको थियो । त्यही दिन नेपाली सेयर बजारको आकार ४४ खर्ब ६८ अर्ब ५० करोड पुगेको थियो । यो गत विहीबारसम्म आउँदा २७ खर्ब २३ अर्ब ८६ करोडभन्दा कम भइसकेको छ ।

यसरी १७ महिनाको बीचमा नेपाली सेयर बजारले १७ खर्ब ४४ अर्ब ६४ करोड (३९ प्रतिशत) गुमाएको छ । अहिलेको विनिमय दरलाई आधार मानेर डलरमा हिसाब गर्ने हो भने यो रकम १३ अर्ब ५२ करोड अमेरिकी डलर हुन्छ । लगभग यही अवधिमा अमेजन एक्लैले गुमाएको पूँजिकरण हेर्ने हो भने नेपाली शेयर बजारले उच्चतम विन्दुमा पुगेयता गुमाएको रकमको ७४ गुणा बढी हुन्छ ।

यसरी पूँजिकरण गुमाउने रफ्तारमा अमेजनलाई अर्को टेक कम्पनी माइक्रा्सफ्टले पच्छ्याइरहेको छ । एक वर्षअघि उच्चतम विन्दुमा पुगेको माइक्रोसफ्टको बजार पूँजिकरण त्यसयता ८ खर्ब ८९ अर्ब घटिसकेको छ ।

पछिल्लो पटक सन् २००८ बाट सुरु भएको विश्वब्यापी आर्थिक मन्दीको असरबाट बाहिर आउन संसारलाई ७ वर्ष लागेको थियो । अहिले फेरि विश्वब्यापि आर्थिक मन्दी आउने त्रास बढ्न थालेको छ ।

अर्कातिर कोभिडको समयमा संसारभर अनलाइन सपिङको प्रबृत्ती ह्वात्तै चुलिँदा अमेजन जस्ता प्लेटफर्मको नाफा पनि अस्वभाविक रुपमा बढेको थियो । तर अहिले संसारभर फैलिएको महँगि, सबैजसो केन्द्रिय बैंकहरुले चालेको कसिलो मौद्रिक नीति र अधिकतर निराशाजनक आर्थिक आँकडाहरुका कारण अहिले संसारभर लगानीकर्ताको मनोबल खस्किएको छ ।

यी कारण दुई वर्ष अघिसम्म संसारको सबैभन्दा धनि व्यक्तिको रुपमा चिनिएका अमेजनका अध्यक्ष जेफ बेजोस अहिले चौंथो धनिमा समेटिएका छन् । लगभग डेढ दशकसम्म विश्वकै धनि मानिएका माइक्रोपफ्टका मालिक बिल गेट्स अहिले पाँचौं धनिमा खुम्चिएका छन् । यी दुबैलाई भारतमा तीव्रतर सम्पत्ति जोडिरहेका गौतम अडानीले जितिसकेका छन् ।

धनिहरुको सूचिमा अर्को पनि रमाइलो पाटो छ । केही महिनाअघि मेडिकल व्यवसायि दुर्गा प्रसाईँले प्रचण्डका छोरीहरुले बोक्ने ‘ह्याण्ड–ब्याग’ (हाते झोला) को ब्राण्डबारे बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा प्रसाईँले प्रचण्डका छोरीहरुले ‘लुई भिटन’को ब्याग बोक्ने गरेको सुनाएका थिए ।

संसारकै प्रिमियम उपभोग्य वस्तु उत्पादन गर्ने यो फ्रान्सेली कम्पनीका सीईओ एवम् अध्यक्ष बर्नार्ड आर्नल्ट अहिले विश्वको दोस्रो धनि व्यक्तिका रुपमा अगाडी आएका छन् । भर्खरै ट्वीटर किनेर चर्चामा आएका अमेरिकी गाडी कम्पनी टेस्लाका मालिक एलन मस्क अहिले विश्वको सबैभन्दा धनिमा गनिन्छन् ।

वितेको झण्डै दुई दशक संसारको सर्वाधिक धनि हुने सूचीमा प्रविधि कम्पनीका मालिकहरु रहे । अहिले संसारभर नै अधिकांश प्रविधि कम्पनीको सेयर मूल्य घटिरहेको छ । आम्दानीको आधारमा अमेरिकाका सबैभन्दा ठूला पाँच कम्पनीको सेयर मूल्य यो वर्ष ४० खर्ब डलरभन्दा धेरैले घटि सकेको छ । यो सिंगै नेपालको अर्थतन्त्रको १ सय ५ गुणाभन्दा बढी हो ।

ब्लुम्बर्गले त पछिल्लो समय जेफ बेजोसको सम्पत्ति घटेर ८३ अर्ब डलरमा झरिसकेको भनेको छ । यसो भने भने बेजोस भारतका अर्का धनि मुकेश अम्बानीभन्दा पनि कमजोर त बन्ने नै छन्, संसारका धनि १० को सूचिमा समेत नरहने संभावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्