दसैँ–तिहारमा चेलीलाई माइती पुर्याउन निःशुल्क यातायात सेवा
खोटाङ,कात्तिक २ । जिल्लामा क्रियाशील युवाको एक समूहले दसैँ–तिहारमा आर्थिक अभाव तथा यातायात सेवाको समस्यामा परेका चेलीलाई माइतीघर पुर्याउन र पर्व मनाएर पुनः कर्मघर फर्काउन ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ।
तीन वर्षदेखि सञ्चालन हुँदै आएको अभियानअन्तर्गत दसैँका अवसरमा कात्तिक ३ देखि ६ गतेसम्म र तिहारका अवसरमा कात्तिक २४ देखि २६ गतेसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराइने अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभयो।
यातायात सेवा नपाएका तथा खर्च अभावका कारण माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी दुई चरणमा अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो। अभियानमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ। आवश्यकताअनुसार पुरुषलाई पनि सेवा उपलब्ध गराइने संयोजक राईले जानकारी दिनुभयो।
अभियानमा सहभागी हुन हालसम्म ३५ जना युवाले नाम दर्ता गराएका छन्। स्वयंसेवा गर्न इच्छुक युवाहरू थपिने क्रम जारी रहेको राईले बताउनुभयो। मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न खण्ड तथा जिल्लाका ग्रामीण सडकमा ३५ किलोमिटरसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो।
अभियानबाट सेवा लिन चाहनेहरूले पनि आफ्नो विवरण टिपाउन थालेका छन्। सुरुमा विवरण दर्ता गराउनेलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइनेछ। निःशुल्क यातायात सेवा लिने यात्रुले बढीमा पाँच किलोग्रामसम्मको झोला मात्रै साथमा राख्न पाउनेछन्। जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर सामानको तौल निर्धारण गरिएको संयोजक राईले बताउनुभयो।
अभियानले यसअघि २०८१ सालमा ३४५ जना र २०८२ सालमा ७०० जनालाई निःशुल्क यातायात सेवा प्रदान गरेको थियो। शुभेच्छुकहरूको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको अभियानका लागि एकपटकमा करिब चार लाख रुपैयाँ खर्च हुने गरेको जनाइएको छ।

